काठमाडौं । अहमदाबादमा भएको एअर इन्डिया विमान दुर्घटनापछि पीडित परिवारलाई मुद्दा फिर्ता लिन सर्तसहित रकम प्रस्ताव गरेको विषय सार्वजनिक भएपछि विवाद चुलिएको छ। लन्डनका लागि उडेको एअर इन्डियाको फ्लाइट दुर्घटनामा परेपछि कम्पनीले मृतकका परिवारलाई अतिरिक्त क्षतिपूर्ति दिने प्रस्ताव अघि सारेको हो। तर पीडित परिवारका कानुनी प्रतिनिधिहरूले उक्त प्रस्तावको कडा विरोध गरेका छन्।
लन्डनस्थित पत्रिका द इन्डिपेन्डेन्ट का अनुसार एअर इन्डियाले मृतकका परिवारलाई अतिरिक्त १० लाख रुपैयाँ (केही अवस्थामा २० लाख रुपैयाँसम्म) उपलब्ध गराउने सर्तमा भविष्यमा कुनै पनि अदालतमा कानुनी दाबी नगर्ने सहमति मागेको छ। कम्पनीले यस्तो सहमति विश्वका सबै अदालतमा मान्य हुने दाबी गरेको छ।
तर १३० परिवारको प्रतिनिधित्व गरिरहेको कानुनी टोलीले उक्त प्रस्ताव अस्वीकार गरेको छ। उनीहरूको भनाइमा दुर्घटनाको छानबिन अझै टुंगोमा पुगेको छैन, जिम्मेवारी निर्धारण भएको छैन र केही घाइतेको उपचारसमेत जारी छ। यस्तो अवस्थामा कानुनी अधिकार त्याग्न लगाउनु अन्यायपूर्ण हुने उनीहरूको तर्क छ।
एअर इन्डियाका प्रवक्ताले भने कम्पनी प्रभावित परिवारप्रति सहयोगी र जिम्मेवार रहेको दाबी गरेका छन्। प्रारम्भिक अन्तरिम राहतपछि कानुनअनुसार अन्तिम क्षतिपूर्ति सुनिश्चित गरिने उनले बताएका छन्।
यसबीच, सर्वोच्च अदालतले फेब्रुअरी ११ मा केन्द्र सरकारलाई दुर्घटनासम्बन्धी ‘प्रोसिजरल प्रोटोकल’ प्रतिवेदन पेश गर्न आदेश दिएको छ। सरकारले एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन बोर्ड (एएआईबी) को अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी गराएको छ।
एनजीओ ‘सेफ्टी म्याटर्स’ का तर्फबाट अधिवक्ता प्रशान्त भूषणले गम्भीर दुर्घटनाको निष्पक्ष छानबिनका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्नुपर्ने माग गरेका थिए। तर प्रधान न्यायाधीश सूर्यकान्तको इजलासले एएआईबीको प्रतिवेदन आएपछि मात्र थप कदमबारे विचार गरिने जनाएको छ।
भूषणले ८ हजारभन्दा बढी पाइलटले बोइङ ७८७ विमानको सुरक्षाबारे प्रश्न उठाउँदै ग्राउन्ड गर्नुपर्ने माग गरेको दाबी पनि गरेका थिए। यस विषयमा केन्द्र सरकार र डीजीसीएका तर्फबाट सलिसिटर जनरल तुषार मेहताले व्यंग्य गर्दै भूषण स्वयंको नेतृत्वमा समिति गठन गरे मात्र सन्तुष्ट हुने टिप्पणी गरेका थिए।
१२ जुन २०२५ मा अहमदाबादबाट लन्डनका लागि उडेको फ्लाइट एआइ–१७१ टेकअफपछि केही मिनेटमै मेडिकल होस्टल भवनमा ठोक्किँदा २७० जनाको ज्यान गएको थियो। तीमध्ये २४१ जना यात्रु तथा चालक दलका सदस्य थिए भने केवल एक जना यात्रु जीवित उद्धार भएका थिए।
फ्लाइटराडार२४ का अनुसार विमानको अन्तिम संकेत १९० मिटर (६२५ फिट) उचाइमा प्राप्त भएको थियो। डीजीसीएका अनुसार विमान दिउँसो १:३९ बजे रनवे २३ बाट उडेको थियो। टेकअफलगत्तै पाइलटले ‘मेडे’ सन्देश पठाए पनि त्यसपछि सम्पर्क हुन सकेन।
विमानमा दुई पाइलट र १० केबिन क्रूसहित कुल २४२ जना सवार थिए। मुख्य पाइलटसँग ८,२०० घण्टा र सह–पाइलटसँग १,१०० घण्टाको उडान अनुभव रहेको जनाइएको छ।

















