हिजाे मिति २०८२÷०५ गते शनिवारका दिन जनता समाजवादी पार्टी नेपाल सिरहा जिल्ला क्षेत्र नं दुईको क्षेत्रीय भेला सम्पन्न भएको छ। पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलामा पार्टीको संगठनात्मक अवस्था, आगामी राजनीतिक कार्यदिशा र प्रतिनिधि सभाको निर्वाचन तयारीका विषयमा व्यापक छलफल गरिएको छ। भेलामा केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।भेलामा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा केन्द्रीय सल्लाहकार श्रीनारायण यादव, सुरेन्द्र प्रसाद यादव, सुखिपुर नगर अध्यक्ष जिवछ यादव, वरियापट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतो, औरही गाउँपालिका अध्यक्ष शिवजी यादवलगायत नेताहरूले आ आफ्नो धारणा राख्नुभएको थियो। वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा संगठनलाई मजबुत बनाउँदै जनतासँगको सम्बन्ध अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
पार्टीले मधेशका मुद्दा, जनअधिकार र समावेशी लोकतन्त्रका सवालमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा जनताको विश्वास जित्न संगठनात्मक तयारी निर्णायक हुने बताइएको थियो।भेलाको मुख्य निर्णयअनुसार शिवजी यादवको संयोजकत्वमा ६८ सदस्यीय क्षेत्रीय समन्वय समिति गठन गरिएको छ। नवगठित समितिमा क्षेत्र नं दुईभित्रका विभिन्न पालिका, वडा र सामाजिक क्षेत्रका प्रतिनिधित्व हुने गरी सदस्य चयन गरिएको जानकारी दिइएको छ। समितिले पार्टीको नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याउने, कार्यकर्ताबीच समन्वय कायम गर्ने र निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्ने जिम्मेवारी पाउने बताइएको छ।

भेलामा बोल्दै जिल्ला अध्यक्ष अशोक कुमार यादवले पार्टी संगठनलाई अनुशासित, सक्रिय र परिणाममुखी बनाउने लक्ष्यका साथ समिति गठन गरिएको बताउनुभयो। उहाँले क्षेत्रीय समन्वय समितिले जनताका समस्या सुन्ने, पार्टीका कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्ने र चुनावी तयारीलाई तीव्र बनाउने विश्वास व्यक्त गर्नुभयो। केन्द्रीय तहका नेताहरूले पनि संगठन विस्तार र जनसम्पर्क अभियानलाई प्राथमिकतामा राख्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।
पार्टीका जिल्ला उपाध्यक्ष लालबहादुर साहका अनुसार आउँदो फाल्गुन २१ गते देशभर हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी यो समिति गठन गरिएको हो। उहाँले निर्वाचनमा पार्टीलाई बलियो ढंगले प्रस्तुत गर्न क्षेत्रीय स्तरमै संयोजन आवश्यक रहेकाले समिति गठन गरिएको स्पष्ट पार्नुभयो। साथै आगामी दिनमा प्रशिक्षण, जनभेटघाट र संगठन सुदृढीकरणका कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी पनि दिनुभयो।
क्षेत्रीय भेलाले पार्टीभित्र उत्साह र एकताको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो। नवगठित क्षेत्रीय समन्वय समितिले पार्टीको अभियानलाई गति दिने र निर्वाचनमा सकारात्मक परिणाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। https://www.facebook.com/reel/1527278171859472




















