
नेपाल प्रेसका मधेश ब्यूरो प्रमुख शिव अधिकारी यदुवंशीलाई आफूले प्रकाशित गरेको समाचारकै कारण ज्यान मार्ने धम्की आएको घटना सार्वजनिक भएको छ। अज्ञात नम्बरबाट ह्वाट्सएपमार्फत फोन गरी उनलाई ‘ठाउँकै ठाउँ मारिदिने’ चेतावनी दिइएको बताइएको छ।
यदुवंशीका अनुसार हिजो साँझ करिब ७:४० देखि ७:४५ बजेको बीचमा भारतको पटना क्षेत्रबाट आएको जस्तो देखिने स्पाम कल आएको थियो। फोन गर्ने व्यक्तिले हिन्दी भाषामा बोल्दै धम्की दिएको उनले बताएका छन्।
उनका अनुसार फोन गर्ने व्यक्तिले ‘डीआईजीसम्बन्धी समाचार लेखेर हाम्रो सेटिङ बिगार्यौ, १० मिनेटमै जनकपुरमा गोली हान्छु’ भन्दै डर त्रास सिर्जना गर्ने प्रयास गरेको थियो।
घटनापछि यदुवंशीले तत्काल जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन्। यस विषयमा प्रतिक्रिया दिँदै प्रहरी प्रवक्ता तथा डीएसपी गणेशबहादुर बमले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
पछिल्लो समय यदुवंशीले मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको कथित रूपमा तस्करहरूसँगको साँठगाँठबारे श्रृंखलाबद्ध समाचार प्रकाशित गर्दै आएका थिए।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav