धरान — नेपाल पुलिस स्कूल धरानले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। विद्यालयले अभिभावक तथा विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट आवेदन दिन अनुरोध गर्दै आवश्यक प्रक्रिया र मापदण्ड सार्वजनिक गरेको छ।
विद्यालयले उपलब्ध गराएको लिंकमार्फत आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको छ। फारम भर्नुअघि सम्बन्धित सूचना अध्ययन गरी “Accept and Continue” विकल्पमा क्लिक गरेर प्रक्रिया अगाडि बढाउन सकिनेछ। सबै विवरण सही तरिकाले भरेर फारम Submit गरेपछि विद्यार्थीले “Application ID” प्राप्त गर्नेछन्, जसको आधारमा शुल्क भुक्तानी गर्नुपर्नेछ।
भुक्तानीका लागि QR Payment वा Bank Deposit विकल्प उपलब्ध गराइएको छ। बैंकमार्फत भुक्तानी गर्दा २०० रुपैयाँ जम्मा गरेको भौचरको फोटो अपलोड गर्नुपर्नेछ भने QR मार्फत भुक्तानी गर्दा स्क्रिनसट राख्न सकिनेछ। साथै, QR भुक्तानी गर्दा remarks मा विद्यार्थीको नाम र भर्ना हुन चाहेको कक्षा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार आवेदन स्वीकृत भएपछि प्रवेश पत्र (Admit Card) ईमेलमार्फत पठाइनेछ। त्यसैले आवेदन गर्दा आधिकारिक इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा राख्न आग्रह गरिएको छ। साथै Application ID र जन्म मिति प्रयोग गरी अनलाइनमार्फत पनि प्रवेश पत्र डाउनलोड गर्न सकिनेछ।
भर्नाका लागि आवश्यक कागजातहरूमा विद्यार्थी तथा अभिभावकको पासपोर्ट साइज फोटो, जन्म दर्ता प्रमाणपत्र, पछिल्लो परीक्षाको लब्धाङ्कपत्र लगायतका कागजातहरू अनिवार्य गरिएको छ। प्रहरी कर्मचारीका सन्तानका लागि थप सिफारिस तथा पेन्सनसम्बन्धी कागजात पनि आवश्यक पर्नेछ।
विद्यालयले तोकेको मापदण्ड अनुसार कागजात अपलोड नगरेका वा त्रुटिपूर्ण आवेदनहरू मान्य नहुने स्पष्ट पारेको छ। आवेदन प्रक्रिया सम्बन्धी समस्या परेमा इमेल वा सम्पर्क नम्बरमार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको छ।
प्रवेश परीक्षा २०८२ चैत २८ गते बिहान ११:३० बजे नेपाल पुलिस स्कूल धरानमा सञ्चालन हुने जनाइएको छ। त्यसैगरी, अन्तर्वार्ता तथा भर्ना प्रक्रिया २०८२ चैत ३० गतेदेखि २०८३ बैशाख ०३ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।
विद्यालयमा भर्ना हुन आउँदा विद्यार्थीको EMIS Transfer अनिवार्य रूपमा गरिसक्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

















