सिरहा । नेपाली कांग्रेस सिरहा जिल्ला अनुशासन समितिले पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा ५ जनामाथि कारबाही सिफारिस गर्दै केन्द्रमा पत्राचार गरेको छ।
कारबाही सिफारिसमा अष्ट्रेलियाकी राजदूत तथा कांग्रेसकी पूर्व केन्द्रीय सदस्य चित्रलेखा यादवका पति डाक्टर श्रीकृष्ण यादवसहित अन्य चार जना परेका छन्। समितिले उनीहरूलाई सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार तथा कांग्रेस सिरहा सभापति रामचन्द्र यादवको निर्वाचनमा असहयोग र अन्तरघात गरेको आरोप लगाएको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा उनीहरूले पार्टी उम्मेदवारलाई आवश्यक सहयोग नगरेको तथा विपक्षीलाई फाइदा पुग्ने गतिविधि गरेको भन्दै उजुरी परेपछि अनुशासन समितिले छानबिन गरी कारबाही सिफारिस गरेको जनाएको छ।
कारबाही सिफारिसमा पर्ने अन्य व्यक्तिहरूमा महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रीय सदस्य सुभाष यादव दास, महादेव यादव, क्षेत्रीय सचिव सत्रुधन प्रसाद चौधरी र जिल्ला सदस्य निलकुमार राउत रहेका छन्।
सभापति रामचन्द्र यादव पक्षले ती नेताहरूले चुनावी अभियानमा सक्रिय सहयोग नगरेको दाबी गर्दै आएको छ। यस विषयमा अन्तिम निर्णय भने पार्टी केन्द्रीय अनुशासन समितिले गर्ने बताइएको छ। स्रोत – हुलाकी टुडेडटकम


















