काठमाडौँ — स्वास्थ्य बीमा बोर्ड ले स्वास्थ्य बीमाको प्रचार–प्रसार तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रील भिडियो प्रतियोगिता घोषणा गरेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले स्वास्थ्य बीमासम्बन्धी विषयवस्तुमा आधारित अधिकतम १ मिनेटको (Vertical Reel Format) भिडियो तयार गरी TikTok वा Facebook Reels मा पोस्ट गर्नुपर्नेछ। उत्कृष्ट भिडियो बनाउने सहभागीले नगद रु. ५०,००० सम्म पुरस्कार जित्ने अवसर पाउनेछन्।
यस प्रतियोगिता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्वास्थ्य सेवा विभाग, Family Welfare Division तथा National Health Education Information and Communication Centre को समन्वयमा सञ्चालन गरिएको हो।
पुरस्कार विवरण:
-
प्रथम पुरस्कार: रु. ५०,०००
-
द्वितीय पुरस्कार: रु. ३०,०००
-
तृतीय पुरस्कार: रु. २०,०००
प्रतियोगितामा सहभागी भिडियोहरूको मूल्याङ्कन लाइक, शेयर, कमेन्ट, भ्युज लगायतका सूचकका आधारमा गरिनेछ। साथै सिर्जनात्मकता र सन्देशको प्रभावकारितालाई पनि प्राथमिकता दिइने जनाइएको छ।
प्रतियोगिताका मुख्य सर्तहरू:
-
भिडियो नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग सम्बन्धित हुनुपर्नेछ।
-
भिडियो मौलिक, सृजनात्मक र सन्देशमूलक हुनुपर्नेछ।
-
अडियो–भिजुअल सामग्रीमा अश्लील वा आपत्तिजनक सामग्री प्रयोग गर्न पाइने छैन।
-
स्वास्थ्य बीमाको महत्व, लाभ, सेवा पहुँच र आर्थिक सुरक्षा जस्ता विषय समेट्न सकिनेछ।
बोर्डले सहभागीहरूलाई आधिकारिक सामाजिक सञ्जाल पेजहरू फलो गरी निर्दिष्ट ह्यासट्याग प्रयोग गर्न पनि अनुरोध गरेको छ।
स्वास्थ्य बीमा कार्यक्रमको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यो प्रतियोगिताबाट जनस्तरमा स्वास्थ्य बीमाको महत्वबारे थप सचेतना फैलिने विश्वास गरिएको छ।


















