
सर्लाहीमा गोली हानी हत्या गरिएका सब-इन्जिनियर प्रमोदकुमार यादवको घरमा छाएको शोकले जो–कोहीको मन भारी बनाउँछ। फागुन महिनाको सिरहा वैशखास्थित उनको घरअगाडि वृद्ध, महिला र बालबालिका मौन बसेका थिए। सबैका आँखामा एउटै अपेक्षा झल्किन्थ्यो—कसैले आएर न्याय दिलाइदिओस् भन्ने आशा।
सञ्चारकर्मी पुगेपछि उनीहरूले “तपाईं को हुनुहुन्छ?” भन्दै जिज्ञासा राखे। सञ्चारकर्मी भएको थाहा पाएपछि हात जोड्दै एक वृद्धले आग्रह गरे, “जसरी भए पनि न्याय दिलाइदिनुस्।” घरको आँगन शोकमग्न थियो। दलानमा दाइ मनोज सेतो पहिरनमा निःशब्द बसेका थिए भने बहिनी निर्मलाका आँखा आँसुले भरिएका थिए। पत्नी पुनम यादव भने पतिको सम्झनामा भक्कानिएकी थिइन्।
३७ वर्षीय प्रमोदकुमार यादव परिवारका मुख्य कमाउने सदस्य थिए। केही समयअघि मात्रै उनका बुवाको निधन भएको थियो। लगत्तै भएको यो अर्को मृत्युले परिवारलाई थप पीडामा डुबाएको छ। अझैसम्म हत्यारा पत्ता नलाग्दा परिवारको पीडा झन् बढेको छ।
फागुन ३ गते सर्लाहीको मलंगवामा अज्ञात व्यक्तिले उनलाई गोली हानी हत्या गरेको थियो। बुवाको अन्तिम संस्कार सकेर कार्यालय फर्किएका प्रमोद साँझ डेरामा थिए। उनकी पत्नी पुनम दुई वर्षीया छोरीसँग खेलिरहेकी थिइन्। त्यही बेला अज्ञात व्यक्तिले डेराबाहिरै गोली प्रहार गरी उनको ज्यान लियो।
“जागिरको एक वर्ष पूरा हुन एक दिन मात्रै बाँकी थियो। घर उहाँकै आम्दानीले चलेको थियो। अब हामी कसरी बाँच्ने?” पत्नी पुनमले भावुक हुँदै भनिन्।
दाइ मनोजले गोली लागेको खबर पाएपछि रातारात सर्लाही पुगेका थिए। तर राति १२ बजे पुग्दा भाइको मृत्यु भइसकेको थियो। “प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दिएको छ। तर ६ दिन बितिसक्दा पनि कुनै उपलब्धि छैन। हामीलाई न्याय चाहिएको छ,” उनले बताए।
स्थानीय बासिन्दाले पीडित परिवारलाई क्षतिपूर्तिसहित छोरीको निःशुल्क शिक्षा र परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार घटनाको अनुसन्धान जारी छ। “अनुसन्धान नसकिँदै केही भन्न सकिँदैन,” उनले बताए।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav