
राजविराज — सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा भेटिएको ‘रकेट जस्तो’ शंकास्पद वस्तु शनिबार विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। खेलौना ठानेर चुल्हो नजिक राखिएको उक्त वस्तु एक्कासि ठूलो आवाजसहित पड्किँदा घटनास्थल त्रासदीमा परिणत भएको हो।स्थानीयका अनुसार वनभोज खान गएका बालकहरूले खोलामा भेटिएको धातुजन्य वस्तुलाई खेलौना सम्झिएर दाउरासँगै राखेका थिए। तर चुल्होको ताप बढ्दै जाँदा उक्त वस्तु अचानक विस्फोट हुँदा छर्रा चारैतिर छरिएको थियो। विस्फोटको झट्काले बालकहरू जमिनमै ढलेका थिए भने वरपर रहेका मानिसहरू आतंकित भएर भागेका थिए।विस्फोटमा परी साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका छन्। उनीहरूको हात, खुट्टा र शरीरका विभिन्न भागमा छर्रा लागेको छ।
घाइते बालकहरूको प्रारम्भिक उपचार मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा गरिएको र थप उपचारका लागि उनीहरूलाई राजविराज पठाइएको छ। चिकित्सकका अनुसार सबैको अवस्था हाल सामान्य छ।घटनापछि स्थानीयस्तरमा गम्भीर प्रश्न उठ्न थालेको छ। दुधैला खोला आसपासको क्षेत्र नेपाली सेनाले अभ्यासस्थलका रूपमा प्रयोग गर्ने गरेको भन्दै स्थानीयले सेनाको अभ्यासका क्रममा प्रयोग भएको वा असफल भएर छोडिएको विस्फोटक सामग्री हुनसक्ने आशंका व्यक्त गरेका छन्।यदि त्यस्तो भएको पुष्टि भए यो सामान्य दुर्घटना नभई सुरक्षा निकायको गम्भीर लापरवाही हुने स्थानीयको तर्क छ। बालबालिका र सर्वसाधारण आवतजावत गर्ने सार्वजनिक स्थानमै विस्फोटक सामग्री भेटिनुले सुरक्षा व्यवस्थामाथि ठूला प्रश्न खडा गरेको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बालकहरूले खोलामा भेटाएको ‘रकेट जस्तो’ वस्तु नै विस्फोट भएको प्रारम्भिक बुझाइ रहेको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै उनले विस्फोटक वस्तुको प्रकृति र स्रोतबारे अहिलेसम्म ठोस निष्कर्ष नआएको स्पष्ट पारे।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav