सिरहा । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले चुनावी गतिविधि तीव्र बनाएका छन्। उनी घरदैलो अभियान, जनसम्पर्क तथा संगठन सुदृढीकरण कार्यक्रममार्फत मतदातासँग निरन्तर सम्पर्कमा देखिएका छन्।

यसैक्रममा सिरहाको बरियारपटी गाउँपालिका–कचनारीमा कांग्रेसको स्थानीय निर्वाचन समिति तथा नेता–कार्यकर्तासँग बैठक सम्पन्न भएको छ। बैठकमा कांग्रेस संगठनलाई अझ मजबुत बनाउँदै निर्वाचन जित्ने रणनीतिबारे विस्तृत छलफल गरिएको जनाइएको छ।कांग्रेसको परम्परागत प्रभाव क्षेत्रका रूपमा परिचित सिरहा–२ मा पार्टीको जनाधार मजबुत रहेको नेता–कार्यकर्ताहरूको भनाइ छ। स्थानीय तहमा भइरहेको गतिविधि र जनसम्पर्कका आधारमा रामचन्द्र यादव यस क्षेत्रका प्रमुख तथा बलिया उम्मेदवार रहेको आम नागरिकको बुझाइ रहेको बताइएको छ।
कार्यक्रममा पूर्व सांसद अमीर कुमार यादव, नरेश यादव, मधेश प्रदेश सरकारका सदस्य सांसद जिबछी यादव, कांग्रेस प्रदेश सदस्य सरोज कुमार यादव, नेता जयकृष्ण यादव, तपेश्वर यादव, उपेन्द्र यादव, सुमन यादव, पालिका उपाध्यक्ष ममता कुमारी यादवलगायतका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र यादवले नेपाली कांग्रेस कमजोर पार्टी नभएको उल्लेख गर्दै कांग्रेसले नै देशलाई विकास र समृद्धिको दिशामा अघि बढाएको दाबी गरे। उनले निर्वाचनमा सबै नेता–कार्यकर्तालाई आ–आफ्नो स्थानबाट सक्रिय भएर लाग्न आग्रह गर्दै सशक्त अभियानमार्फत नतिजा कांग्रेसको पक्षमा ल्याउन आह्वान गरे।



















