वीरगञ्ज — पर्साको वीरगञ्जमा सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार वीरगञ्ज महानगरपालिकाभित्र पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू गरिएको छ। आदेश उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
यसअघि मस्जिद तोडफोड तथा आगजनीको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए। उता, हिन्दू मन्दिर तथा देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको आरोपमा सोमबार बिहानदेखि हिन्दुवादी समूहहरू पनि सडकमा उत्रिएका थिए।
दुवै पक्षका गतिविधिबाट शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ। प्रशासनले वार्तामार्फत विवाद समाधान गर्ने प्रयास जारी रहेको जानकारी पनि दिएको छ।


















