लहान, सिरहा । विगत ४७ वर्षदेखि कानुनी जटिलतामा अल्झिँदै आएको लहानस्थित ‘राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल’ को जग्गा नामसारी प्रक्रिया अन्ततः सफलतापूर्वक सम्पन्न भएको छ। विशेष पहलकदमी र निरन्तर प्रयासको परिणामस्वरूप दशकौँ पुरानो समस्या समाधान भई अस्पतालको स्वामित्वमा जग्गा विधिवत् रूपमा हस्तान्तरण भएको हो।
जग्गा नामसारी प्रक्रियामा सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको रु. १ करोड ३४ लाखभन्दा बढीको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) मन्त्रिपरिषद्को आजको निर्णयबाट पूर्ण रूपमा छुट गरिएको छ। यस निर्णयसँगै १ विघा १५ कठ्ठा १० धुर क्षेत्रफलको जग्गा अब कानुनी रूपमा अस्पतालकै स्वामित्वमा आएको छ।

यस ऐतिहासिक तथा अनुकरणीय निर्णयलाई मूर्तरूप दिन माननीय मन्त्री अनिल कुमार सिंहा र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले महत्वपूर्ण भूमिका, समन्वय र सक्रिय सहयोग प्रदान गर्नुभएको जनाइएको छ। उहाँहरूको दूरदर्शिता, जनहितप्रतिको प्रतिबद्धता र निर्णायक पहलले दशकौँदेखि कायम रहेको समस्या समाधान गर्न सम्भव भएको सरोकारवालाहरूले बताएका छन्। साथै मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूप्रति पनि उच्च सम्मान व्यक्त गरिएको छ।उक्त कार्य सम्पादनमा जेन-जी नेता तथा वर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको समेत बिशेष पहलकदमी रहेको थियो ।सिरहा जिल्लाको पूर्वी भेगमा अवस्थित यो एकमात्र प्रादेशिक अस्पतालले अब करिब १० लाख नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। जग्गा नामसारी सम्पन्न भएसँगै अस्पतालको सेवा विस्तारका साथै मधेस प्रदेशमै ट्रमा सेन्टर निर्माण गर्ने सम्भावना समेत खुलेको छ।
यस उपलब्धिलाई जनताको साझा जितका रूपमा लिइएको छ। सरोकारवालाहरूले नागरिकको माया, साथ र समर्थन नै यस्तो ऐतिहासिक सफलता प्राप्त गर्ने ऊर्जा बनेको उल्लेख गर्दै, सामूहिक प्रयासमार्फत राष्ट्रलाई अझ समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


















