सुखिपुर, मधेश प्रदेश — सुखिपुरमा पहिलोपटक क्रिकेट एकेडमी सञ्चालनका लागि भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ। हिजो मिति २०८२ कार्तिक २५ गते श्री रामजनकी वी. एन. बहुमुखी क्याम्पस, सुखिपुरकाे प्रांगनमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय समाजसेवी, खेलकर्मी तथा राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहेको थियो।
क्रिकेट एकेडमी सुखिपुरका सञ्चालक समितिका अध्यक्ष भूवन यादवले खेल क्षेत्रमा युवाहरूको सहभागिताबाट सुखिपुर मात्र होइन, देशकै नाम उज्ज्वल बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार एकेडमीले ग्रामीण क्षेत्रमा लुकेका प्रतिभाशाली युवाहरूलाई पहिचान गरी राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रमका प्रमुख वक्ता तथा एकेडमीका सचिव विजय निरौलाले क्रिकेट माध्यमबाट अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न सकिने बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेट टिमका पेसर नन्दन यादवको विशेष उपस्थिति रह्यो। उहाँले स्थानीय स्तरमै यस्तो पहल हुनु गौरवको विषय भएको उल्लेख गर्दै खेलप्रति प्रतिबद्धता जनाउन युवा दाजुभाइहरूलाई आग्रह गर्नुभयो।
सो अवसरमा खेल क्षेत्रका अग्रणी व्यक्तित्व शेखर दास, विभिन्न समाजसेवी तथा शिक्षाविद्हरूको समेत उपस्थिति रहेको थियो। आयोजक समितिका अनुसार एकेडमीले निकट भविष्यमै प्रशिक्षण कार्यक्रम सुरु गर्दै क्षेत्रीय प्रतिभा विकासका लागि नियमित प्रतियोगिताहरू आयोजना गर्ने योजना बनाएको छ। 


















