अनिल सिंह / सि
रहा
मधेश प्रदेशको धनगढीमाई नगरपालिका–१० मा अवस्थित लवकुश बहुउद्देश्य सहकारी संस्थामा अस्थायी रूपमा सञ्चालन हुँदै आएको पद्मोदय फाउन्डेसन थोरै समयमै अपांग सहयोगी संस्था रूपमा लोकप्रिय बनेको छ। विगत दुई वर्षको अवधिमा सयौं अपांग बालबालिकाहरू र असहाय व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गर्दै यस संस्थाले सहयोग, समर्पण र मानवताको अद्भुत उदाहरण प्रस्तुत गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरूसँग सहकार्य गर्दै विपन्न तथा असहाय वर्गलाई सहयोग पुर्याउने अभियान सञ्चालन गरिरहेको यस संस्थाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विशेष पहिचान बनाउन सफल भएको छ।
गत २०८२ साउन १२ गते धनगढीमाई नगरपालिका–१० मा अवस्थित लवकुश बहुउद्देश्य सहकारी संस्थाको परिसरमा रहेको अस्थायी कार्यालयमा अज्ञात समूहले आगजनी गरेपछि फाउन्डेसनले पुनः सक्रियता बढाउँदै आफ्नो गतिविधि सशक्त रूपमा अघि बढाएको छ। आगलागीपछिको पहिलो बैठक सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ छजनास्थित सञ्चालक समिति सदस्य श्री रामशरोवर यादवको निवासमा हिजो मिति २०८२ कार्तिक १९ गते सम्पन्न भएको हो।
फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोका अनुसार, बैठकमा छ ओटा प्रस्तावहरूमा छलफल गरी विभिन्न निर्णयहरू गरिएका छन्। ती निर्णयमध्ये प्रमुख रूपमा फाउन्डेसनको वर्तमान कार्यालय धनगढीमाई नगरपालिका–८, कसहा बजारमा सञ्चालन गर्ने र दोस्रो वार्षिक साधारण सभा यही मिति २०८२ कार्तिक २६ गते सिरहा, सुखीपुर–२, छजना बजारमा आयोजना गर्ने निर्णय गरिएको छ।
साधारण सभाको अवसरमा वृक्षारोपण कार्यक्रम, स्थानीय खेलाडीहरूको संस्थाका लागि आर्थिक सहयोग, अपांग बालबालिकाहरूका लागि ह्वीलचेयर वितरण, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरूलाइ कदरपत्र प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष महतोले जानकारी दिए। उनका अनुसार, पद्मोदय फाउन्डेसन अब सहयोग मात्र होइन, सामाजिक रूपान्तरणको अभियानमा पनि समर्पित रूपमा अघि बढ्नेछ।
संस्थाले मधेश प्रदेशमा अपांग सहयोग, शिक्षा, स्वास्थ्य र सामाजिक सशक्तिकरणका क्षेत्रमा दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। फाउन्डेसनका अध्यक्ष महतोले भने, “हाम्रो उद्देश्य केवल सहयोग होइन, प्रत्येक व्यक्तिमा आत्मविश्वास जगाउने र समाजमा समान अवसर सुनिश्चित गर्ने हो।”
थोरै समयमै उल्लेखनीय सामाजिक योगदानका कारण पद्मोदय फाउन्डेसन अहिले मधेश प्रदेशमा जनसेवाको उदाहरणीय संस्था बनेको छ। मानवता, सहानुभूति र सेवाको भावना बोकेको यो संस्था समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ संकल्पसहित अघि बढिरहेको छ।


















