अनिल सिंह
काठमाडौं । विभिन्न आठ वामपन्थी दलहरूको जोडतोड र एकता प्रयासबाट नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन भएको छ। पार्टी गठनलाई वाम शक्तिको पुनर्गठनको रूपमा व्याख्या गरिएको छ, तर यसको टिकाउपन, वैधानिकता र नैतिकता माथि गम्भीर प्रश्नहरू उठिरहेका छन्।
सार्वजनिक बहसमा अहिले मुख्य प्रश्न यो छ — यो नयाँ दल टिकाउ हुन सक्छ कि फेरि विगतकै जस्तो फुटमा पुग्नेछ ?
विगतमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ अदालतसम्म पुगेको थियो। त्यसबेला वैधानिक अध्यक्ष ऋषि कट्टेलले दायर गरेको मुद्दापछि सर्वोच्च अदालतले दुई पुराना दललाई पुनर्जीवित गर्दै नयाँ पार्टी खारेज गरेको थियो। त्यसको नजिर अहिले पनि ताजा छ, र नयाँ गठनमा त्यसै किसिमको कानुनी जटिलता दोहोरिन सक्ने अनुमान गरिँदैछ।
यसैबीच, नवगठित दलले पाँचकुने तारालाई आफ्नो निर्वाचन चिन्हका रूपमा प्रस्ताव गरेपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ध्यानाकर्षण गराएका छन्। जसपाको झण्डामा पहिल्यै पाँचकुने तारा रहेको भन्दै उनले अरू दललाई सो चिन्ह प्रयोग नगर्न आग्रह गरेका छन्।
राजनीतिक विश्लेषकहरू भन्छन्, नेपालमा देखिने “कॉपी–पेस्ट” राजनीति र सधैं अदालतमा पुग्ने प्रवृत्तिले दलहरूको नैतिक र वैचारिक विश्वसनीयता कमजोर बनाउँदै लगेको छ। यस्तै परिस्थितिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले देशलाई स्थायित्व र निकास दिन सक्ने क्षमतामाथि पनि जनस्तरमा प्रश्न उठ्न थालेको छ।
अर्को विवाद पार्टीको नाममै छ। निर्वाचन आयोगमा पहिले नै दर्ता रहेको ऋषि कट्टेल नेतृत्वको **‘नेपाल कम्युनिष्ट पार्टी’**सँग हुबहु मेल खाने नाम राख्नु कति वैज्ञानिक र वैधानिक छ भन्ने प्रश्न त छँदैछ, तर यसले राजनीतिक नैतिकतामाथि पनि गम्भीर प्रश्न उठाएको छ।
प्रचण्डले ‘नेपालमा पनि भारतीय कम्युनिष्ट पार्टी र भारतीय जनता पार्टी जस्तै पार्टीको नाम दोहोरिनु अस्वाभाविक होइन’ भन्ने तर्क दिएका छन्। तर आलोचकहरू भन्छन्, यसरी बाह्य उदाहरण दिनु सैद्धान्तिक स्पष्टता होइन, बहिरगमन हो।
प्रचण्डको विगत पनि अहिले पुनः स्मरणमा आएको छ। दश वर्षे जनयुद्धको नेतृत्व गर्दै साम्यवादको सपना देखाएका उनले शान्ति प्रक्रियापछि “समाजवाद”को बाटो अँगालेका छन्। यस क्रममा मोहन वैद्य ‘किरण’ समूहले उनलाई “आत्मसमर्पणवादी” र “सुधारपन्थी” भनेर आलोचना गर्दै आएको थियो। अहिले प्रचण्डले माओवादी सिद्धान्तभन्दा टाढिएको पुष्टि नै मोहन वैद्यको आरोपको प्रमाण बनेको हो कि भन्ने प्रश्न उठिरहेको छ।
त्यसैगरी, माधवकुमार नेपालसँग उनको नजिकता र सहकार्यलाई लिएर पनि जनस्तरमा जिज्ञासा छ — कान्तिकारी विचारधारा बोकेका प्रचण्ड किन सधैं “सुधारवादी” भनिएका नेताको पछि लाग्छन् ?
अब प्रश्न उठेको छ —
के यो एकता वास्तवमै विचारको पुनर्जागरण हो, वा केवल अवसर र सत्ताको समीकरण मिलाउने अर्को राजनीतिक प्रयोग ?


















