मिति: २०८२ असोज ५ गते, काठमाडौं
✍ बहुजन आवाज/अनिल सिंह — विशेष रि
पोर्ट
देशभक्त नागरिक मञ्चले नेपालको सार्वभौम भू–भाग लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रबारे चीन सरकार र संयुक्त राष्ट्रसंघलाई दुई अलग कूटनीतिक पत्र पठाएको छ। मञ्चका संयोजक गोविन्द बोहराले हस्ताक्षरित ती पत्रहरूमा सन् २०२५ अगस्ट १९ मा चीन र भारतबीच भएको “लिपुलेक क्षेत्रको संयुक्त प्रयोग” सम्बन्धी सम्झौताप्रति तीव्र आपत्ति र पुनरावलोकनको आग्रह गरिएको छ।
चीन सरकारलाई पठाइएको पत्र
नेपालका स्वतन्त्र नागरिकहरूको तर्फबाट चीनका नेपालस्थित महामहिम राजदूतलाई पठाइएको पत्रमा लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएको ऐतिहासिक, सांस्कृतिक र कानूनी प्रमाणसहित उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ —
“नेपालको सहमति बिना तेस्रो राष्ट्रसँग गरिएको कुनै पनि सम्झौता नेपालको सार्वभौमिक अधिकारमाथि अतिक्रमण हो र यसले नेपाल–चीनबीचको परम्परागत मित्रता प्रभावित गर्न सक्छ।”
मञ्चले चीन सरकारसँग चार मुख्य आग्रहहरू गरेको छः
1 नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई पूर्ण सम्मान गरियोस्।
2 नेपाललाई बाहिर राखेर गरिएका कुनै पनि सम्झौताहरू अमान्य मानियोस्।
3 विवादास्पद सम्झौताहरूको पुनरावलोकन गरियोस्।
4 भविष्यमा नेपालसँग सरोकार भएका विषयमा परामर्श र समन्वय गरियोस्।
संयुक्त राष्ट्रसंघलाई पठाइएको पत्र
संयुक्त राष्ट्रसंघका महासचिवलाई पठाइएको पत्रमा नेपालले संयुक्त राष्ट्रसंघबाट विगतमा पाएको सहयोग र मित्रवत् सम्बन्धप्रति आभार व्यक्त गर्दै हालको सीमासम्बन्धी विवादमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको छ।
पत्रमा भनिएको छ —
“सन् २०२५ अगस्ट १९ मा चीन–भारतबीच नेपालको सहभागिता बिना भएको सम्झौता नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथि प्रत्यक्ष धक्का हो।”
मञ्चले महासचिवसमक्ष निम्न मागहरू राखेको छः
- लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्र नेपालको ऐतिहासिक भूभाग भएको कानूनी मान्यता दिन सहयोग होस्।
- चीन र भारतलाई नेपाललाई समावेश गरी त्रिपक्षीय संवादमार्फत विवाद समाधान गर्न आग्रह गरियोस्।
- विवादको समाधान संयुक्त राष्ट्रसंघ चार्टर र अन्तर्राष्ट्रिय कानुन अनुसार होस्।
- सदस्य राष्ट्रबीच समानता र आपसी सम्मानको सिद्धान्त कायम राख्दै नेपालका अधिकारहरू सुरक्षित गरियोस्।
मञ्चले संयुक्त राष्ट्रसंघको “सकारात्मक र सक्रिय भूमिका” ले यो विवादलाई थप बढ्न नदिई क्षेत्रीय शान्ति र सहयोग सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।
संयोजक गोविन्द बोहरा भन्छन्
“यो केवल सीमाको विषय होइन, राष्ट्रिय अस्तित्वको प्रश्न हो। हामी शान्तिपूर्ण तर दृढ आवाजमार्फत नेपालको भू–अधिकार र सार्वभौमिकताको रक्षा गर्न चाहन्छौं।”
📍 स्रोत: देशभक्त नागरिक मञ्च
📞 सम्पर्क: गोविन्द बोहरा, संयोजक — ९८५११४१६४६



















