सिरहा ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८ र १० जोड्ने सिरहा–सलहेश सडक खण्ड अन्तरगतको गागन खोलामा अझैसम्म पुल निर्माण नहुँदा स्थानीय बासिन्दा र यात्रुहरू दैनिक रूपमा कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
यो सडक सुखीपुरदेखि दहिपौडी जोड्ने महत्वपूर्ण मार्ग हो, तर वर्षा याममा खोला पारी–पार गर्न कठिन हुने भएकाले विद्यालय जाने विद्यार्थी, किसान, बिरामी तथा सर्वसाधारण सबैलाई ठूलो समस्या हुने गरेको छ।
विगतको प्रतिनिधिसभा निर्वाचनमा निवर्तमान प्रतिनिधि सभा सदस्य श्री राजकिशोर यादवले सुखीपुर नगरलाई ‘स्मार्ट सिटी’ बनाउने प्रतिबद्धता जनाउँदै प्रतिनिधि सभा क्षेत्र नं. २बाट चुनाव जित्न सफल भएका थिए। तर, स्थानीय बासिन्दाका अनुसार, “वाचा अनुसारको विकास त टाढा भयो, खोलामा साधारण पुल बनाउन पनि कुनै पहल भएको छैन,” भन्ने गुनासो स्थानीयस्तरमा बढ्दै गएको छ।
त्यसैगरी, सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित मधेश प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह पनि चुनाव जितेपछि ‘गदहाको सिंह गायब भएजस्तै’ हराएको चर्चा स्थानीयबीच फैलिएको छ।
सुखीपुरका एक स्थानीय बासिन्दा भन्छन्,
“हामीले नेताहरूलाई विश्वास गरेर मतदान गर्यौं, तर हिजोको जस्तै समस्या आज पनि उस्तै छ। वर्षा याममा खोला तर्न सकिन्न, सवारीसाधन डुब्छन्, मानिसको ज्यानसमेत जोखिममा पर्छ।”
स्थानीयले तत्काल पुल निर्माणको प्रक्रिया अघि बढाउन सुखीपुर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
यदि निकट भविष्यमा कुनै पहल नभए, स्थानीय बासिन्दाले सडक अवरुद्ध गर्दै आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
📍पत्रकार: ललन कुमार
📅 मिति: २०८२ असोज २८ गते
📰 स्रोत: स्थानिय संवाददाता, सुखीपुर, सिरहा


















