काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको दुर्लभ शल्यक्रिया सफल भएको छ । अलकापा (Anomolous Left Coronary Artery Orginating from Pulmonary Artery, ALCAPA) भनिने मुटुको पहिलोपल्ट शल्यक्रिया सफल भएको हो ।
माघ ३ गते महोत्तरीका ९ महिने बालकको अलकापा शल्यक्रिया गरी डिस्चार्ज गरिएको हो ।
वरिष्ठ शल्यचिकित्सक डा. रविन्द्रभक्त तिमलाको नेतृत्वमा शल्यचिकित्सक मारिसा अर्यालसहितको टोलीले सफल शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि निगरानीमा राखिएको बालकलाई आइतबार डिस्चार्ज गरिएको छ ।
डा. तिमलाका अनुसार बालकको मुटुको खुम्चिने समस्या १०–१५ प्रतिशत मात्र थियो । शल्यक्रियापछि उनको मुटुको खुम्चिने शक्ति ३५ प्रतिशत पुगिसकेको छ । खुम्चिने शक्ति थप बढ्दै जाने अपेक्षा उहाँले गर्नुभयो ।
‘यस प्रकृतिको पहिलो सफल शल्यक्रिया हुनुको साथै कम खुम्चिने शक्ति भएको मुटुको शल्यक्रिया समेत भएको छ’, डा. तिमलाले भन्नुभयो, ‘अहिले बालकको मुटुको खुम्चिने शक्ति बढेको छ, अझै बढ्दै जान्छ ।’
के हो अलकापा ?
मुटुमा रक्त सञ्चार गर्ने मूल नशा (Left Coronary Artery) एओर्टाबाट निस्कुनपर्नेमा पल्मोनरी आर्टरी (Pulmonary Artery) बाट निस्केको अवस्थालाई अलकापा (ALCAPA) भनिन्छ । उक्त नशालाई फेरि मुटुको मूल धमनी (Aorta) मा नै लगेर जोडिने शल्यक्रिया नै अलकापा शल्यक्रिया हो ।
अलकापा हुँदा पल्मोनरी आर्टरीबाट निस्केको रगतको नलीमा प्रेसर र रगतको बहाब कम हुने हुनाले मुटुको मांशपेसीलाई आवश्यक रगत नपुगी मुटुको खुम्चिने शक्ति कम हुन जान्छ । यस्तो समस्या ३ लाख जिवित जन्मिएका शिशुमध्ये एक जनामा हुने गर्छ ।

















