जनकपुरधाम । स्थानीय सरकार आएको ७ बर्ष वितिसक्दा पनि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको एक वडामा सयौँ गरिब बालबालिका विद्यालय पहुँच बाहिर रहेको भन्दा पत्यार नलाग्ला, तर यो सत्य हो ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ हथराटोलस्थित सयौँ गरिब, अल्पसँख्यक बालबालिकाहरु विद्यालय पहुँचबाट बाहिर रहेको पाईएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको सदरमुकाम महेन्द्रनगरदेखि करिब १० किलोमिटर पूर्व रहेको वडा नं. ९ को हथराटोलका सयौँ बालबालिका विद्यालय पहुँच बाहिर रहेको छ ।
सो वडाको हथराटोलस्थित मुखिया वस्ती रहेको छ । सयौँ बालबालिकाहरु मुखिया समुदायका रहेका छन् । तर, नजिकमा कुनै समुदायिक विद्यालय नहुँदा उनीहरु पढाईबाट बञ्चित हुन पुगेको छ । कलिला उमेरका बालबालिकाहरुलाई टाढा जान कठिनाई हुने र बोर्डिँग स्कूलमा पढाउने हैसियत नभएपछि उनीहरु शिक्षाबाट बञ्चित भएका छन् ।
यसको लागि वडा नं. ९ का वडाध्यक्ष अवधकिशोर यादवले निरन्तर प्रयासरत रहेपनि उपलब्धी भने हुन सकेको छैनन् । सयौँ बालबालिकाको भविष्य बाँधिएको सो ठाउँमा विद्यालय सँचालनको लागि नगरपालिकासँग हारगुहार गरेपनि रकम अभावमा विद्यालय सँचालन हुन नसक्दा बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् ।
करिब १२ बर्ष अगाडी सो ठाउँमा एक विद्यालय सँचालनमा आएपनि २०५० सालपछि खारेजी भएको हो । विद्यालय नै खारेज भएपछि स्थानीय सरकारले कुनै चासो लिएनन् । स्थानीय सरकारको दोस्रो कार्यकालमा वडाध्यक्षमा अवधकिशोर यादव निर्वाचित भएपछि उनी सुरुदेखि नै विद्यालय सँचालनको लागि अथक कसरत गरिरहेका छन् ।
आफ्नो वडाका गरिब, निमुखाहरु विद्यालयको पहुँचबाट बाहिर रहँदा दुःख लागेको बताउँदै वडाध्यक्ष यादवले नगरपालिकाले बजेट अनुदान नगरिदिँदा सँचालनमा समस्या भएको बताए । उनले विद्यालयको लागि सानो भवन भएपनि विद्यालय अधिकारिक रुपमा सँचालनको लागि आवश्यक पूर्वाधार नहुँदा बालबालिकाहरु बञ्चित भोग्नुपरेको बताए ।
कुराकानी गर्दै वडाध्यक्ष यादवले भने, –“म निर्वाचित भएपछि नै त्यहाँ विद्यालय स्थापनाको लागि प्रयास गरिरहेको छु । वडास्तरबाटै विद्यालय सँचालनको लागि प्रयासररत रहेको छु, तर विकासे बजेट नै वडास्तरी कम विनियोजन हुँदा समस्या भएको छ । नगरपालिकाले चाहे त्यहाँ महिनाभित्रमा सँचालन हुन सक्छ, तर नगरपालिकाका प्रतिनीधिहरुले ध्यान नदिँदा बजेट विनियोजन गर्न सकेको छैन, जसको कारण हाम्रा बालबालिकाहरु विद्यालय पहुँचबाट टाढा भएका छन् ।”
यता, नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीले पहिलेदेखि नै विद्यालय रहँदै आएको र अहिले दर्ता खारेजी भएको बताए । उनले सो ठाउँमा विद्यालय सँचालनको लागि वडाध्यक्षले प्रयास गरेपनि जनप्रतिनीधिहरु कुरा नमिलेर समस्या उत्पन्न भएको बताए । उनले नगरपालिकाले बजेट विनियोजन गरिदिए प्रक्रिया यथाशिघ्र थालिने बताए । सरकारी अनुदान, कर्मचारी व्यवस्थापनको लागि रकम नहुँदा समस्या भएको उनले थपे ।
यस सन्दर्भमा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
वडाध्यक्ष यादवले हथरा टोलमा बालबालिकाहरुको शिक्षामा पहुँच बनाउनको लागि अन्य सरोकारबालाहरुसँग समन्वय गर्ने प्रतिवद्धता जाहेर गरे । साभार – ईन्युजब्युरो डटकम बाट ।


















