जब रत्ननगरका घरहरूमा जाँच गरियो त्यहाँका ड्रम, पानीका जार, बाल्टी, टायर, टिनका बट्टा, ट्यांकीहरूमा डेंगी फैलाउने लामखुट्टेका लार्भाहरू प्रशस्त भेटिएका थिए। फ्रिज पछाडि जमेको पानीमा, गमला राखिएको प्लेटमा पनि लामखुट्टेका लार्भाहरू हुर्किरहेका थिए।
बागमती प्रदेशको भेक्टर वर्न डिजिज कन्टोल रिसर्च सेन्टर हेटौंडाले गत वर्ष चितवनको रत्ननगर नगरपालिकाका ५४७ घरहरूमा सर्भेक्षण गर्दा १३३ वटा सामग्रीहरूमा लामखुट्टेका अण्डा, लार्भा भेटिएका थिए। सबैभन्दा बढी (४७ प्रतिशत) घर वरपर भेटिएका ड्रमहरूमा भेटिएका थिए। मान्छेले अनुमान नै नगर्ने गमलाको तल राखिने प्लेटहरू पनि लामखुट्टे फैलाउने माध्यम बनिरहेको उक्त सर्वेक्षणले देखाएको थियो।
रिसर्च सेन्टरले चितवन, मकवानपुर, काठमाडौं, ललितपुर र भक्तपुरमा यस्तो सर्भेक्षण गरेको थियो।
विगतमा तराईका सहरमामात्रै देखिएको डेंगी भाइरसको संक्रमण पछिल्ला वर्ष पहाडी क्षेत्रमा पनि फैलिएको छ। लामखुट्टेका अण्डा विभिन्न माध्यमबाट पहाड हुँदै हिमालसम्म पुगेर डेंगी फैलदै गएको हो।
डेंगी एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस नामका लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो। यी लामखुट्टेले सफा, जमेको पानीमा अण्डा पार्छन्। अण्डा पारेको २–३ दिनमा लार्भा बन्छन्, ४–५ दिनमा लार्भा प्युपा बन्छन्। प्युपा १–२ दिनमा लामखुट्टे बनिहाल्छन्।
प्रकृतिले बनाएका खाडलमा भन्दा मानव निर्मित भाँडाहरूमा यो लामखुट्टेको जीवनचक्र चल्छ। प्युपाबाट निस्किएको लामखुट्टेको आयु ३० देखि ४५ दिनको हुन्छ। उसले जीवनभरमा ८ सय वटासम्म अण्डा पार्नसक्छ। ती अण्डाहरू पानीबिना पनि महिनौंसम्म जीवित रहनसक्छन्। डेंगी संक्रमण गराउने लामखुट्टे करिब एक सय मिटरको परिधिमा रहन्छन्। त्यसैले निश्चित स्थानका धेरै व्यक्तिमा छिट्टै यसको संक्रमण फैलिन सक्छ।
डेंगी पहिलो पटक सन् १९५० मा फिलिपिन्स र थाइल्याण्डमा पहिचान भएको थियो। नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा देखिएको थियो। पहिलो पटक चितवनमा रहेका विदेशीमा देखिएको यो संक्रमण सन् २००६ मा चितवनमा फैलियो। अर्को साल यो अन्य जिल्लामा पनि देखिन थाल्यो। सन् २०१० मा त चितवन र रूपन्देहीमा डेंगीको महामारी नै फैलिएको थियो।



















