चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८१–२०८२ को शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ ।यसपाली स्नातक तहको एकीकृत प्रवेश परीक्षा भदौको पहिलो हप्ता नै गर्ने तयारी आयोगले गरेको छ ।
उक्त प्रवेश परीक्षाका लागि जेठको अन्तिम साता नै आवेदन खुल्ला गर्ने आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । सबै प्रक्रिया पूरा गरी मंसिरको दोस्रो सातादेखि कक्षा सञ्चालन गर्ने तयारी भएको पनि काप्रीले बताए ।
गत वर्ष स्नातक तहको प्रवेश परीक्षा कार्तिक तेस्रो साता सञ्चालन गरिएको थियो । फागुनमा मात्रै कक्षा सञ्चालन भएको थियो ।
काप्रीका अनुसार १२ कक्षाको नतिजा नआएपनि विद्यार्थीले आवेदन दिन सक्नेछन् । परीक्षा तोकिएको समयसम्म नतिजा नआएमा विद्यार्थीले प्रवेश परीक्षा समेत दिन सक्नेछ । तर प्रवेश परीक्षाको नतिजा भने कक्षा १२ को नतिजा नआइकन प्रकाशित नगरिने काप्रीेले बताए ।
कक्षा १२ को परीक्षा साउन दोस्रो साता नै प्रकाशन हुने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएकाले त्यो समस्या नहुने काप्रीको भनाइ छ ।
आयोगको शैक्षिक क्यालेण्डरअनुसार स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ तेस्रो साता हुनेछ । २०८२ बैशाख १ गतेदेखि कक्षा प्रारम्भ हुनेछ ।
एमडी–एमसिएच तथा सब स्पेसियालिटी कार्यक्रमको प्रवेश परीक्षा २०८२ को जेठ तेस्रो साता हुने उल्लेख गरिएको छ ।


















