वीरगञ्ज, ७ पुष । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पाँच वर्ष पर्सा जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् ।
बिहिबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण पश्चात सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै यादवले सङ्घीय सांसद्का रुपमा पाँच वर्षसम्म पर्सा जिल्लाको समृद्धि र विकासका लागि आफूले काम गर्ने बताएका हुन् ।
पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादव दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले मधेशको मौलिक पहिरन धोती, कुर्ता, पगडी र गम्छा लगाएर आफ्नो मातृभाषा भोजपुरी भाषामा शपथ लिएका छन् ।
यादवले मधेशको मौलिक पहिरन लगाएर भोजपुरी भाषामा शपथ लिने अवसर दिएकोमा पर्सा जिल्लावासीलाई पनि धन्यवाद दिएका छन् ।

यादवले लेखेका छन्, ‘जनताको न्यायको मन्दिर सङ्घीय संसदमा प्रतिनिधिसभा सदस्यको रूपया आजदेखि मेरो दोस्रो कार्यकालको सुरुवात भएको छ । मधेशको पहिचान र संस्कृतिको सम्मान गर्दै आफ्नो मौलिक पहिरन धोती, कुर्ता, पगडी र गम्छा लगाएर दोस्रो पटक भोजपुरी भाषामा शपथ ग्रहण गर्ने अवसर मिल्यो । यस अवसरका लागि मेरो निर्वाचन क्षेत्र तथा पर्सा जिल्लाका सम्पूर्ण जनताप्रति हृदयदेखि आभार प्रकट गर्दछु । सङ्घीय सांसद्का रुपमा ५ वर्षसम्म जिल्लाको समृद्धि र विकासका लागि काम गर्ने म वचनवद्धता गर्दछु ।’
आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिने पर्सा जिल्लाबाट उनि एक सांसद् हुन् । पर्सामा प्रत्यक्ष र समानुपातिक गरी ७ जना सांसद् छन् ।



















