
महोत्तरीमा एक युवतीको हत्या प्रकरण अझै समाधानतर्फ नपुगेको देखिएको छ। २२ वर्षीया अनु रायको हत्या मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका मन्दीपकुमार यादव हालसम्म फरार रहँदा पीडित परिवार न्यायको प्रतीक्षामा बस्न बाध्य छ।
जिल्ला अदालत महोत्तरीले यादवलाई जन्मकैदको सजाय सुनाउँदै ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। तर सजाय कार्यान्वयन हुनुअघि नै उनी फरार भएका कारण न्याय प्रक्रिया अधुरो बनेको छ। अनु र यादवबीच प्रेम सम्बन्ध रहेको बताइए पनि उक्त सम्बन्ध अन्ततः दुखद घटनामा परिणत भएको थियो। ०८१ साल असोज २२ गते राति बर्दीबास–५ स्थित टुटेश्वर जंगलमा अनुको हत्या भएको थियो।
घटनापछि पक्राउ परेका यादवलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा राखिएको थियो। तर ‘जेन–जी आन्दोलन’ का क्रममा कारागारमा भएको अव्यवस्थाको फाइदा उठाउँदै उनी अन्य कैदीहरूसँगै फरार भएका थिए। त्यसयता उनी अझै पक्राउ परेका छैनन्।
पीडितका बुबा रामविनेश रायले छोरीका हत्यारा खुला रूपमा हिँडिरहँदा आफूहरूले न्याय नपाएको गुनासो व्यक्त गरेका छन्। उनले सम्बन्धित निकायसँग अभियुक्तलाई तत्काल पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गराउन माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले फरार अभियुक्तहरूको खोजीलाई प्राथमिकतामा राखेर अभियान जारी रहेको जनाएको छ। कारागारबाट भागेका धेरैलाई नियन्त्रणमा लिइए पनि मुख्य अभियुक्त यादव अझै पक्राउ पर्न सकेका छैनन्।
यस घटनाले कारागार सुरक्षाको अवस्था, आन्दोलनका बेला हुने व्यवस्थापन कमजोरी तथा न्याय कार्यान्वयनमा देखिएको ढिलाइबारे गम्भीर प्रश्न उठाएको छ। – साभार न्युज ब्युरो डटकम बाट ।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav