सुखीपुर (सिरहा) — श्री राम जानकी बी.एन. जनता बहुमुखी क्याम्पस, सुखीपुरमा बिहीबार B.Ed प्रथम वर्ष (२०८२) का नवप्रवेशी विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा क्याम्पस प्रशासन, व्यवस्थापन पक्ष, शिक्षकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक वातावरण, सत्रको कार्ययोजना, पाठ्यक्रम संरचना, परीक्षा प्रणाली, अनुशासन तथा उपस्थितिका नियमहरू साथै उपलब्ध शैक्षिक सुविधाबारे विस्तृत जानकारी प्रदान गरिएको क्याम्पस प्रमुख मनित चौधरीले जानकारी दिनुभयो।
क्याम्पस प्रमुख चौधरीले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थीमैत्री शिक्षण पद्धतिमा जोड दिइएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र सकारात्मक सिकाइ वातावरण निर्माणमा क्याम्पस प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा शिक्षक तथा विद्यार्थी प्रतिनिधिहरूले पनि क्याम्पसको शिक्षण पद्धति, सह-पाठ्यक्रम गतिविधि, शैक्षिक अवसर र व्यवस्थापन सम्बन्धी जानकारी दिएका थिए। क्याम्पसका अध्यक्ष महेश चौधरीले समेत मार्गनिर्देशन गर्दै विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा सक्रिय र अनुशासित हुन आग्रह गर्नुभयो।
कार्यक्रमको समापनमा नवप्रवेशी विद्यार्थीहरूलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै क्याम्पसका शुभचिन्तक विपि भुवन यादव लगायतले प्रेरणादायी मन्तव्य राख्नुभएको थियो।


















