काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा तिहार जेलमा आत्मसमर्पण गरेका बलिउड अभिनेता राजपाल यादवप्रति फिल्म क्षेत्रबाट समर्थन जुट्न थालेको छ। अभिनेता गुरमीत चौधरी र सोनु सूदले उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
गत फेब्रुअरी ५ मा तिहार जेल पुगेका राजपालको पक्षमा गुरमीतले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भावुक सन्देश सार्वजनिक गरेका हुन्। उनले राजपाललाई वरिष्ठ र अत्यन्त प्रतिभाशाली कलाकारको रूपमा उल्लेख गर्दै कठिन घडीमा साथ दिन आफू तयार रहेको बताएका छन्। कलाकारिताभन्दा माथि उठेर मानवताको आधारमा सहयोग गर्नुपर्ने उनको भनाइ छ। साथै, चलचित्र क्षेत्रका निर्माता, निर्देशक र सहकर्मीलाई पनि सहानुभूति र करुणासहित समाधान खोज्न एकजुट हुन उनले आग्रह गरेका छन्। “हाम्रो उद्योग एउटा परिवार हो, परिवारले आफ्ना सदस्यलाई कहिल्यै छाड्दैन,” गुरमीतले लेखेका छन्।
जेल जानुअघि राजपालले इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै आफू गम्भीर आर्थिक संकटमा परेको बताएका थिए। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जाल र फिल्म क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका थिए।
यसबीच अभिनेता सोनु सूदले पनि राजपाललाई साथ दिने घोषणा गरेका छन्। उनले आफ्नो आगामी फिल्ममा अवसर दिने र साइनिङ रकममार्फत आर्थिक सहयोग गर्ने बताएका छन्। सोनुले यसलाई दान नभई कलाकारको सम्मान जोगाउने प्रयासका रूपमा व्याख्या गरेका छन्। “सानो साइनिङ रकम दान होइन, सम्मान हो। कठिन समयमा उद्योगले आफ्ना सदस्यलाई एक्लो महसुस हुन दिनुहुँदैन,” उनले उल्लेख गरेका छन्।
यसअघि दिल्ली उच्च अदालतले चेक अनादरका श्रृंखलाबद्ध मुद्दामा राहत माग्दै आएको राजपालको निवेदन अस्वीकार गर्दै आत्मसमर्पण गर्न आदेश दिएको थियो। अदालतले उनले पटक–पटक भुक्तानीसम्बन्धी प्रतिबद्धता उल्लंघन गरेको ठहर गर्दै फेब्रुअरी ४ भित्र आत्मसमर्पण गर्न निर्देशन दिएको थियो।
राजपालका कानुन व्यवसायीले तत्काल २५ लाख भारतीय रुपैयाँ जम्मा गर्ने र बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति भएको दाबी गरे पनि अदालतले त्यसलाई पर्याप्त आधार नमान्दै राहत दिन अस्वीकार गरेको थियो। न्यायाधीश शर्माले आत्मसमर्पण नगरेसम्म कुनै सुनुवाइ नहुने स्पष्ट पारेपछि राजपालले फेब्रुअरी ५ मा तिहार जेलमा आत्मसमर्पण गरेका हुन्। अदालतले आत्मसमर्पणपछि कानुनअनुसार उपयुक्त निवेदन दिन सकिने स्पष्ट पारेको छ।


















