


सुखिपुर, सिरहा — सुखिपुर नगरपालिका–२, छजनामा पदमोदय फाउन्डेसन र पदमोदय स्पोर्ट्स क्लबद्वारा ‘पदमोदय क्रिकेट नेटबक्स’को भव्य उद्घाटन गरिएको छ। सो अवसरमा स्थानीय प्रतिभाशाली खेलाडी पार्थिक यादवलाई एक लाख पच्चिस हजार रुपैयाँ नगदसहित खेलका सामग्रीहरू प्रदान गरिएको छ।
उद्घाटन समारोहका प्रमुख अतिथि समाजसेवी अशोक कुमार खड्काले यादवलाई सहयोगस्वरूप चेक हस्तान्तरण गर्दै खेलकुदले युवालाई अनुशासन, आत्मविश्वास र नेतृत्व सिकाउने बताउँदै निरन्तर अभ्यास र लगनशीलताले मात्रै सफल खेलाडी बन्न सकिने उल्लेख गरे।
कार्यक्रममा पदमोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले सुखिपुर क्षेत्रका युवामा खेलप्रतिको उत्साह बढ्दै गएको बताए। उनले भने, “हाम्रो उद्देश्य केवल प्रतियोगिता आयोजना गर्नु होइन, खेललाई व्यावसायिक स्तरमा लैजाने हो। नेटबक्सको स्थापना त्यस दिशातर्फको महत्वपूर्ण कदम हो।”
सो अवसरमा खेल सामग्रीहरू समेत वितरण गरिएको थियो, जसमा ब्याट, बल, ग्लोभ, जर्सी र सुरक्षा उपकरणहरू समावेश थिए। आयोजकका अनुसार यी सामग्रीहरूले स्थानीय खेलाडीहरूको अभ्यासलाई सहज बनाउने र उनीहरूको खेलस्तर सुधार गर्न मद्दत गर्नेछ।
समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालयका शिक्षक, विद्यार्थी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पदमोदय फाउन्डेसनको यो पहललाई सुखिपुरको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र सम्भावनाको सुरुवातका रूपमा स्वागत गरेका छन्।
फाउन्डेसनका तर्फबाट आगामी वर्षहरूमा खेल पूर्वाधार विस्तार, प्रशिक्षण कार्यक्रम र महिला खेलाडीहरूको सहभागिता बढाउने योजना अघि सारिएको जानकारी दिइएको छ।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav