काठमाडौं — जनमत पार्टीभित्र जातिवाद, परिवारवाद, र चापलुसी हाबी भएको आरोप लगाउँदै पार्टीका ५ जना केन्द्रीय सदस्यसहित २१ जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टिभित्र निष्पक्षता र लोकतान्त्रिक अभ्यासको अभाव भएको बताएका छन्।
उनीहरूले नेतृत्वले आन्तरिक निर्णय प्रक्रियामा जादिवाद र परिवारवादलाई प्राथमिकता दिएको र योग्य नेताहरूलाई चापलुसीको आधारमा बेवास्ता गरेको आरोप लगाएका छन्। राजीनामा दिने नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “जनमत पार्टीले सुरुमा जनताको हित र समानताका लागि संघर्ष गर्ने उद्देश्य राखेको भए पनि हाल पार्टीमा जातिवाद र परिवारवादको संस्कृति बढ्दै गएको छ। हामीले पटक-पटक सुधारको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि बाध्य भएर राजीनामा दिनु परेको हो।”
सामूहिक राजीनामा दिनेहरूमा संजय स्वराजी(कार्यकारिणी समिति ) समेत ५ जना केन्द्रीय सदस्यहरु ,इन्द्र प्रसाद सिंह ,कोमल यादव ,दिपेन्द्र मधेशी, मसुधन महतो र १६ जना जिल्ला नेता संतोष यादव, सिंहेश्वर, मण्डल, राम जीवन साह ,राम आधार भण्डारी , रोशन मधेशी ,नरेन्द्र यादव . ई० प्रेम नाथ महतो . ई० रामपदार्थ महतो ,बासुदेव यादव ,हिरेन्द्र साह , जय चन्द्र ठाकुर , राजिब यादव , शिवशरण यादव फुलो मण्डल – जिल्ला महिला नेता , नितु साह समेत प्रदेशस्तरीय नेताहरू र जिल्लास्तरीय नेताहरूसमेत रहेका छन्। राजीनामा दिने समूहले भविष्यमा नयाँ राजनीतिक कदम चाल्न सक्ने संकेत पनि गरेको छ।


















