सिरहा — कृषि ज्ञान केन्द्र, सिरहाले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कृषि तथा सिँचाइ सम्बन्धी अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ। उक्त सूचना अनुसार इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, दर्ता भएका जल उपभोक्ता समिति तथा कृषि फर्महरूले तोकिएका कागजातसहित आवेदन दिन सक्नेछन्।
केन्द्रले पहिलो पटक प्रकाशित सूचना मितिले २१ दिनभित्र (२०७८/०७/०२ गतेभित्र) प्रस्ताव पेश गर्न आग्रह गरेको छ। प्रस्तावहरू कार्यक्रमको प्रकृति अनुसार छनोट गरिने जनाइएको छ।
सूचनामा उल्लेख गरिए अनुसार साना सिँचाइ पूर्वाधार (स्यालो ट्युबवेल, पम्पसेट, मोटर), कृषि यन्त्र उपकरण (ट्र्याक्टर एटेचमेन्ट, बीउ प्रशोधन आदि), मह उत्पादन तथा बजारीकरण, फलफूल तथा तरकारीको व्यावसायिक खेती, उत्पादन वृद्धि गर्न नयाँ प्रविधि प्रदर्शन, बगर खेती, पुष्प उत्पादन प्रविधि, च्याउ तथा च्याउ बीउ उत्पादन, प्राङ्गारिक मल उत्पादन, कुलो/पैनी जस्ता साना सिँचाइ संरचना लगायतका क्षेत्रमा अनुदान उपलब्ध गराइनेछ।
यसका साथै सहकारीमार्फत कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि Custom Hiring Center स्थापना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
थप जानकारीका लागि कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारीसँग सम्पर्क गर्न तथा www.akcsiraha.p2.gov.np बाट सूचना र फारम डाउनलोड गर्न सकिने जनाइएको छ।


















