रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक दलित महिलामाथि अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। कटहरिया–९ निवासी करिब ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरलाई स्थानीय केही व्यक्तिहरूले जबर्जस्ती मानव मलमूत्र खुवाएको आरोप लागेको हो।शनिबार साँझ भएको उक्त घटनामा छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा आएका जन्तीमध्ये एक १० वर्षीय बालक अचानक वान्ता गरेपछि त्यसैलाई आधार बनाइएको बताइएको छ। बालकलाई जादुटुना गरिएको आरोप लगाउँदै करिब १५ देखि २० जनाको समूह पीडितको घरमा प्रवेश गरी कुटपिट गर्दै उनलाई मलमूत्र खुवाएको पीडितकी छोरी सुमिला देवीले जानकारी दिइन्। उनका अनुसार घटनाका बेला घरमा आमा र छोरी मात्रै थिए।
“साँझ करिब ७ बजेतिर एक्कासि समूह घरभित्र पस्यो, आमालाई समातेर बियरको बोतलमा घोलेको मलमूत्र जबर्जस्ती ख्वायो,” उनले भनिन्, “हामीले विरोध गर्दा हामीमाथि समेत हातपात गरियो।”घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाबाट सई मोहन आले मगरको नेतृत्वमा पुगेको प्रहरी टोलीले पीडितको उद्धार गरेको थियो। अचेत अवस्थामा रहेकी महिलालाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न जाँदा स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि नै आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि थप सुरक्षा व्यवस्था मिलाउन इलाका प्रहरी कार्यालय गरुडाबाट समेत प्रहरी परिचालन गरिएको छ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनाको अनुसन्धान तीव्र बनाइएको र दोषीहरूलाई कानुनअनुसार कडा कारबाही गरिने बताएका छन्।स्थानीय मुसहर समुदायमा बिहेपछि ‘सरियतिया’ जाने चलन अनुसार बेहुली पक्षबाट जन्ती फर्किएपछि भोज र मदिरा सेवन गर्ने परम्परा छ। सोही क्रममा भएको यस घटनाले समुदायमा त्रास र आक्रोश फैलाएको छ।


















