काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियर प्रमोद यादवको हत्यासँग सम्बन्धित घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र अनुसन्धान सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने भएको छ। एशोसिएसनले एक सूचना जारी गर्दै घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसमक्ष सशक्त माग प्रस्तुत गरिने जनाएको छ।
एशोसिएसनका अनुसार कार्यक्रममा घटनाको अनुसन्धानको वर्तमान अवस्था, कानुनी प्रक्रियाको प्रगति तथा इन्जिनियर/आर्किटेक्ट समुदायले भोगिरहेका पेशागत चुनौतीहरूबारे तथ्यपरक, संयमित र परिणाममुखी छलफल गरिनेछ। साथै, पेशागत सुरक्षा, मर्यादा र गरिमाको संरक्षणका विषयमा स्पष्ट धारणा तय गर्दै आगामी रणनीतिसमेत सार्वजनिक गरिने तयारी गरिएको छ।
कार्यक्रममार्फत सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय, अनुगमन तथा प्रभावकारी दबाब सिर्जना गरिने एशोसिएसनले जनाएको छ।
एशोसिएसनले सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्ट सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन तथा सशक्त सामूहिक आवाज उठाउन हार्दिक आह्वान गरेको छ।


















