सिरहा । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, सिरहा जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट श्री शिव शंकर यादवको उम्मेदवारी दर्ता गरिएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदका लागि मिति २०८२/११/२१ मा हुने निर्वाचनमा यादवलाई औपचारिक रूपमा उम्मेदवारका रूपमा मनोनयन गरिएको हो। यस सम्बन्धमा निर्वाचन अधिकृतको कार्यालयबाट उहाँलाई औपचारिक पत्रसमेत प्रदान गरिएको छ।
रास्वपाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि पेश गरेको उम्मेदवारको बन्दसूचीमा भने शिव शंकर यादवको नाम समावेश गरिएको छैन। साथै, प्रतिनिधि सभा सदस्यको अन्य कुनै पनि निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उहाँलाई उम्मेदवार बनाइएको छैन।
प्रत्यक्ष निर्वाचनमार्फत जनताको मत जित्ने उद्देश्यसहित उम्मेदवारी दिएका यादवको उम्मेदवारीपछि सिरहा–२ मा चुनावी माहोल थप रोचक बनेको छ। स्थानीय मतदातामाझ रास्वपाको उपस्थिति र प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।


















