काठमाडौँ — नेपालको राष्ट्रिय पहिचान, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई मूल आधार मानेर गठन हुन लागेको राष्ट्रिय एकता दल ले आगामी २०८२ साल पुस २५ गते शुक्रबार काठमाडौँमा आफ्नो औपचारिक घोषणा सभा आयोजना गर्ने भएको छ।
दलले सार्वजनिक गरेको विज्ञप्तिमा राजनीति सत्ताको अभ्यासमा मात्र सीमित नभई राष्ट्रको इतिहास, संस्कृति र भविष्यप्रतिको गम्भीर उत्तरदायित्वसँग जोडिएको विषय भएको उल्लेख गरिएको छ। यही दृष्टिकोणका साथ राष्ट्रिय एकता दलको स्थापना गरिएको जनाउँदै, संघीय हिन्दु गणतन्त्रको अवधारणा, नेपाली मौलिक धर्म–संस्कृति तथा सभ्यताको संरक्षण, र राष्ट्रिय एकताको सुदृढीकरणलाई दलको मुख्य ध्येयका रूपमा अघि सारिएको छ।
दलका अनुसार यी मूल्यहरू कुनै एक समुदाय वा वर्गको हितमा केन्द्रित नभई नेपालको ऐतिहासिक निरन्तरता, सामाजिक सन्तुलन र राष्ट्रिय आत्माको संरक्षणसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। वर्तमान राजनीतिक, सामाजिक तथा राष्ट्रिय आवश्यकता मूल्यांकन गर्दै वैकल्पिक राष्ट्रवादी राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यले औपचारिक घोषणा सभा गर्न लागिएको बताइएको छ।
लोकतान्त्रिक व्यवस्थामा वैचारिक विविधता स्वाभाविक भए पनि राष्ट्रिय हितका साझा विषयमा राजनीतिक दलहरूबीच आपसी सम्मान, संवाद र सहकार्य आवश्यक रहेको दलको धारणा छ। यही सन्देश प्रवाह गर्न विभिन्न राजनीतिक दलका नेतृत्व, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।
राष्ट्रिय एकता दलले यस ऐतिहासिक अवसरमा गरिमामय उपस्थिति वा शुभकामनाले राजनीतिक शिष्टाचार, लोकतान्त्रिक परिपक्वता र राष्ट्रिय एकताको सन्देश थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा उपस्थित हुन नसक्ने व्यक्तिहरूबाट प्राप्त शुभकामनालाई पनि उत्तिकै प्रेरणादायी र महत्वपूर्ण हुने दलले जनाएको छ।


















