सिरहा — सिरहा जिल्लाको सीमावर्ती बजार बरियारपट्टीस्थित पुरानो छोटी भन्सार नाकालाई मुल भन्सार कार्यालयमा स्तरोन्नति गर्न माग गर्दै जेनजी सिरहाको तर्फबाट माननीय अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापन पत्र बुझाइएको छ।
राणा शासनकालदेखि नै छोटी भन्सार नाकाका रूपमा प्रयोग हुँदै आएको बरियारपट्टी नाका भारतको बिहार राज्यअन्तर्गत लदनीयाँ बजारसँग जोडिएको छ। हाल हुलाकी राजमार्ग निर्माण भई सञ्चालनमा आएपछि बरियारपट्टी बजार द्रुत गतिमा शहरीकरणतर्फ उन्मुख भइरहेको जेनजी सिरहाले जनाएको छ।ज्ञापन पत्रमा उल्लेख भएअनुसार बरियारपट्टी बजार सिरहा जिल्लाको मध्यभागमा पर्छ। यहाँबाट पूर्वतर्फ रहेको लौकहा ठाडी मुल भन्सार कार्यालय पुग्न करिब २२ किलोमिटर र माडर मुल भन्सार कार्यालय पुग्न करिब २० किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता छ। यस क्षेत्रअन्तर्गत गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका, औरही गाउँपालिका तथा बरियारपट्टी गाउँपालिकाका स्थानीय व्यापारी तथा सर्वसाधारणका लागि बरियारपट्टी नाका नै सबैभन्दा नजिक र सुगम रहेको जनाइएको छ।
तर बरियारपट्टीमा मुल भन्सार कार्यालय नहुँदा चारपाने सवारी साधनमार्फत सामान आयात–निर्यात गर्न नपाइने, भन्सार दस्तुर तिर्नका लागि अनावश्यक रूपमा टाढाका नाकासम्म धाउनुपर्ने अवस्था रहेको ज्ञापनमा उल्लेख छ। यसले स्थानीय जनता र व्यापारीहरूलाई समय, श्रम र खर्च तीनै हिसाबले ठूलो मार परेको जनाइएको छ।
छोटी भन्सारको सीमितताका कारण बरियारपट्टी र औरही आसपासका बजारहरूको विकाससमेत प्रभावित भएको भन्दै जेनजी सिरहाले बरियारपट्टी छोटी भन्सार नाकालाई तत्काल मुल भन्सार कार्यालयमा स्तरोन्नति गर्न माग गरेको छ।
ज्ञापन पत्र जेनजी सिरहाका तर्फबाट सन्तोष यादवले पेस गर्दै स्थानीय आर्थिक गतिविधि सहज बनाउन र सीमावर्ती क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।


















