जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको रत्नसागर मन्दिरको नाममा रहेको करिब ५ बिघा गुठी जग्गा अतिक्रमण भइरहेको आरोप लगाउँदै जनकपुरधाम उपमहानगरपालिका–१४ का सचेत नागरिक तथा स्थानीयवासीहरूले सरोकारवाला निकायहरूलाई ज्ञापन पत्र बुझाएका छन्।
नागरिक समाजले जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका लगायत दर्जनभन्दा बढी निकायमा ज्ञापन पत्र बुझाउँदै उक्त जग्गा केही भू–माफिया र मन्दिरकै जिम्मेवार पदाधिकारी (म्यानेजर)को मिलेमतोमा गैरकानुनी रूपमा अतिक्रमण भइरहेको दाबी गरेको छ।
ज्ञापन पत्रमा धार्मिक धरोहरको रूपमा रहेको सार्वजनिक गुठी जग्गा निजी स्वार्थका लागि प्लटिङ गर्ने, संरचना निर्माण गर्ने तथा बेचबिखन गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यसले स्थानीय धार्मिक आस्थामा चोट पुग्नुका साथै सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठाएको जनाइएको छ।
नागरिक समाजले तत्काल उक्त जग्गामा भइरहेको सबै किसिमका निर्माण तथा गतिविधि रोक्का गर्न, भू–माफिया र सम्बन्धित म्यानेजरबीच भएको आर्थिक चलखेलको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न, दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न तथा जग्गा पुनः रत्नसागर मन्दिरकै नाममा सुरक्षित रहने सुनिश्चितता गर्न माग गरेको छ।
ज्ञापन पत्रमा शान्तिपूर्ण मागलाई बेवास्ता गरिए स्थानीय जनसमुदाय कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ। यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने नागरिक समाजको भनाइ छ।
उक्त विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय, गुठी संस्थान, नापी कार्यालय, मालपोत कार्यालय, भूमि आयोग, वडा कार्यालय, वडा प्रहरी कार्यालय तथा पत्रकार महासंघ धनुषासमेतलाई बोधार्थ पठाइएको छ।
नागरिक समाजले जनकपुरको ऐतिहासिक धरोहर जोगाउन पत्रकार, नागरिक र सरोकारवाला सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको भन्दै एकजुट हुन आह्वान गरेको छ।























