रौतहट । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जामन्त्री कुलमान घिसिङले तोकिएको समयसीमाभित्र पूर्वाधार निर्माण सम्पन्न नगरे ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरिने कडा चेतावनी दिएका छन्।
शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–३ मा चाँदीनदीमाथि निर्माणाधीन तर लामो समयदेखि अलपत्र परेको पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण कार्य तत्काल तीव्र बनाउन निर्देशन दिएका हुन्। निरीक्षणका क्रममा उनले निर्माण कम्पनीका ठेकेदार दयाराम साहलाई निर्धारित समयमै काम पूरा गर्न स्पष्ट निर्देशन दिए।ठेकेदार साहले पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम आगामी जेठ महिनाभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि मन्त्री घिसिङले सो प्रतिबद्धता पूरा नभए ठेक्का तोडिने चेतावनी दिए। चाँदीनदी पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीसँग २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजार रुपैयाँमा सम्झौता भएको थियो। पुल ढिलाइ हुँदा गैडाटार क्षेत्रका बासिन्दा लामो समयदेखि आवतजावतमा समस्या झेल्दै आएका छन्।
यसै क्रममा मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने बागमती नदीमा निर्माणाधीन बडहर्वा पुलको पनि निरीक्षण गरे। दुर्गा भगवती गाउँपालिका–५ स्थित उक्त पुल विगत १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले निर्माण ढिलाइ हुनुको कारणबारे छानबिन गरिने बताए। विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संयुक्त रूपमा शिलान्यास गरेको पुल अझै सम्पन्न नहुनु गम्भीर विषय भएको उनको भनाइ थियो।मन्त्री घिसिङले पुल र सडकजस्ता पूर्वाधार विकासकै आधार भएकाले यस्ता आयोजनालाई लामो समयसम्म अलपत्र रहन नदिने सरकारको प्रतिबद्धता दोहोर्याए।अनुगमन कार्यक्रमकै क्रममा उनले रौतहटको शिवनगरस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र शिव मन्दिरको अवलोकन गरे। साथै चन्द्रपुर–८ मर्धरमा ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियानअन्तर्गत आयोजित वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन पनि गरेका छन्।


















