लहान, सिरहा — मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयअन्तर्गत लहानस्थित यातायात व्यवस्था कार्यालयले आगजनीका कारण अवरुद्ध भएका सेवामध्ये केही सेवा आगामी २०८२ मंसिर २६ गतेदेखि आंशिक रूपमा पुनः सञ्चालन गर्ने भएको छ।
जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते कार्यालयमा आगजनी भएपछि सबै सेवा रोकिएको थियो। त्यसपछि क्रमिक रूपमा सेवा सुचारु गर्दै आएको भए पनि मोटरसाइकल, स्कूटर र मोपेडसँग सम्बन्धित eVRS अनलाइन प्रणाली अझै सञ्चालनमा नआएकाले सेवाग्राहीले समस्या भोग्दै आएका थिए।

कार्यालयले जारी गरेको सूचनाअनुसार, अनलाइन प्रणाली नचलेपनि सेवाग्राहीमा परेको असुविधालाई ध्यानमा राख्दै प्रदेश २ मा दर्ता भएका तथा मधेश प्रदेशमा ०१-००१ प देखि ०१-००५ प/ब सम्मका अनलाइन लटमा परेकाहरूको अभिलेख दर्ता कार्य मंसिर २६ गतेदेखि सुरु गरिने भएको छ।यससँगै ती सवारी साधनहरूको नामसारी (Transfer) कार्य समेत सोही मितिदेखि सुचारु हुने सूचनामा उल्लेख छ।त्यसैगरी, प्रदेश १ (स. १ प. देखि स. ११ प.) र सरकारी सवारीका स. लटमा परेकाहरूको अभिलेख दर्ता तथा नामसारी सेवा पनि केही दिनभित्र सुरु गरिने कार्यालयले जनाएको छ।कार्यालयले सेवाग्राहीमा परेको असुविधाप्रति क्षमाप्रार्थना गर्दै आंशिक रूपमा भए पनि सुचारु सेवाबाट आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।





















