रिपोर्ट – सिरहा | बहुजन आवाज
मिति: २०८२ कार्तिक ९ गते
सिरहा जिल्लाको औरही गाउँपालिकाका अध्यक्ष श्री शिवजी यादव स्थानीय जेनजी समूहका गतिविधिका कारण हाल केही तनावमा रहेको जानकारी दिनुभएको छ।
आज औरही अस्पतालको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पालिकामा देखिएका प्रशासनिक र सामाजिक चुनौतीबारे खुलस्त धारणा राख्दै भने,
“कर्मचारी अभाव र दरबन्दी नभएका करार कर्मचारी हटाउने सरकारको निर्णयका कारण समस्या उत्पन्न भएको हो, तर सरकारको निर्णयलाई स्वीकार गर्न हामी बाध्य छौं।”
अध्यक्ष यादवले थप जानकारी दिँदै भने,
“अधिकांश कर्मचारीहरू — जस्तै स्वीपर, ड्राइभर, सफाईकर्मी लगायतका कर्मचारीहरू अनिवार्य रूपमा नियुक्त गर्नुपर्ने भएकाले यसबारे निकट भविष्यमा नै गाउँसभा (परिषद्) गरी निर्णय लिने तयारी भइरहेको छ।”
यादवका अनुसार, पालिकाभित्र कुनै प्रकारको भ्रष्टाचार नभएको स्पष्ट गर्दै उनले जो–कोहीसँग पनि संवाद गर्न सधैं तयार रहेको बताए। विगतमा केही कमजोरी भए पनि हालका दुई कार्यकालमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनको भनाइ छ।
तर पछिल्ला दिनमा स्थानीय जेनजी समूहबीचको आपसी प्रतिशोधका कारण कार्यालयहरूमा आगजनीसम्मका घटना हुन थालेको भन्दै अध्यक्ष यादवले गम्भीर चिन्ता व्यक्त गरे। उनले सम्बन्धित सबै पक्षलाई संवाद र वार्तामार्फत समाधान खोज्न आग्रह गरे।



















