रौतहट, ८ भदौ । रौतहटको गौर नगरपालिका–९, मुडवलवा गेट नजिकै शनिबार राति सडक किनारमा फ्याँकिएको सुटकेसभित्र एक महिलाको शव फेला परेको छ।
स्थानीयले डोरीले बाँधिएको सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। आज बिहान जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्की नेतृत्वको टोलीले सुटकेस खोल्दा करिब ३० वर्षीया महिलाको शव भेटिएको हो। शवलाई खाँदेर राखिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
हाल मृतक महिलाको परिचय खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाएको छ। साथै नजिकैको विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेज विश्लेषण गरी अनुसन्धानलाई तीव्र पारिएको छ।
यसै साताभित्र रौतहटमा यो तेस्रो शव फेला परेको हो। यसअघि गौरकै एक लजमा सप्तरीका उपेन्द्र भगत मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाँको छुरा प्रहार गरी हत्या गरिएको थियो।
लगातार आपराधिक घटनाले गौरवासी त्रासमा परेका छन् भने प्रहरी प्रशासनलाई शान्ति सुरक्षा कायम गर्न थप चुनौती थपिएको छ। साभार -मैतृन्युज डटकम बाट ।


















