जनकपुरधाम : होलीको दिन भएको अंशु यादव हत्या प्रकरणमा संलग्न सबै आरोपी पक्राउ नगरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले जनकपुरधाममा प्रदर्शन गरेका छन्।
बिहीबार प्रदर्शनकारीहरूले जनकपुरधामको रामानन्द चोकमा सडक अवरुद्ध गर्दै तीव्र विरोध जनाएका हुन्। उनीहरूले “भ्रष्ट सरकार मुर्दावाद”, “स्थानीय प्रशासन मुर्दावाद”, “न्यायाधीश मुर्दावाद”, “न्याय मरेको देश” जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनको क्रममा उनीहरूले एक दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड गरेका छन्। प्रदर्शनका कारण जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत रामानन्द चोक झण्डै एक घण्टासम्म अवरुद्ध भएको थियो।
यसअघि पनि मृतक अंशु यादवकी आमा अर्चना यादवको नेतृत्वमा स्थानीय बासिन्दाले बिन्धीस्थित जनकपुर–जलेश्वर सडकखण्ड दुईपटक जाम गर्दै प्रदर्शन गरेका थिए।
जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धी निवासी १७ वर्षीय अंशु यादवको होलीको दिन छुरा प्रहारबाट हत्या भएको थियो। घटनास्थलबाट धर्मेन्द्र महतो नामका व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो भने केही दिनअघि थप एक जना पक्राउ परेका छन्।
पीडित आमा अर्चना यादवले सात जनाले मिलेर छोराको हत्या गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छिन्। हालसम्म दुई आरोपी पक्राउ परिसकेका छन् भने बाँकी पाँच जना अझै फरार छन्।


















