समाज सुधारक तथा भक्ति आन्दोलनका महान सन्त गुरु रविदासको ६४८औं जन्मजयन्ती कपिलवस्तुको तौलिहवामा भव्य रूपमा मनाइएको छ। कपिलवस्तु बुद्ध बिहार संघको आयोजनामा तथा विभिन्न सामाजिक अभियन्ताहरूको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तथा भारतका सामाजिक आन्दोलनमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तौलिहवाको होटल तिलौराकोटमा आयोजित कार्यक्रम कपिलवस्तु बुद्ध बिहार संघका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तथा पूर्व पर्यटन मन्त्री जानकी प्रसाद यादव प्रमुख अतिथि रहनुभएको थियो भने कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। अन्य अतिथिहरूमा कपिलवस्तु अस्पताल विकास समिति तौलिहवाका अध्यक्ष शिवलाल यादव लगायत विभिन्न समाजसेवीहरूको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले सन्त रविदासको जीवन, विचार र समाज सुधारमा उहाँको योगदानबारे चर्चा गर्दै जातीय विभेद र सामाजिक अन्याय अन्त्य गर्न उहाँका शिक्षालाई अनुकरण गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो। सामाजिक अभियन्ता रामशरण रैदासले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। चार सयभन्दा बढीको सहभागिता रहेको यस कार्यक्रममा सन्त रविदासको भक्ति, समानता, करुणा र भाइचाराको सन्देशलाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने कुरामा वक्ताहरूले जोड दिनुभएको थियो।


















