काठमाडौँ । बाँकेको नेपालगन्ज मा एक युवती जलेर मृत्यु भएको घटनालाई लिएर सामाजिक सञ्जालमा भड्काउ तथा साम्प्रदायिक द्वन्द्व निम्त्याउने टिप्पणी नगर्न प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके ले आइतबार विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान जारी रहेकाले असत्य, उत्तेजक र विद्वेष फैलाउने सामग्री नप्रसार गर्न सर्वसाधारण तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको हो।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुर स्थित सडकमा गत १४ चैत राति करिब ११:३५ बजे २२ वर्षीया सिर्जना बुढा मगर गम्भीर रूपमा जलेको अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि भेरी अस्पताल लगिएकोमा १५ चैत बिहान १:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे सामाजिक सञ्जालमा फैलिरहेका भ्रमपूर्ण र उत्तेजक अभिव्यक्तिप्रति प्रहरी गम्भीर बनेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दीपक पातली ले अनुसन्धान जारी रहेकाले समुदायबीच द्वन्द्व सिर्जना हुने खालका गतिविधि नगर्न आग्रह गर्दै त्यस्ता कार्यमा संलग्नमाथि कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

यस घटनामा संलग्न भएको आशंकामा मृतकसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका २४ वर्षीय मोहम्मद आरिफ ढपाली, उनकी आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू विगत दुई वर्षदेखि नेपालगन्ज–८ रानीतलाउ क्षेत्रमा डेरा गरी बस्दै आएका थिए। प्रहरीले थप दुई जनाको खोजी गरिरहेको जनाएको छ।
घटनाको पृष्ठभूमिमा १३ चैतमा सिर्जनाले आरिफविरुद्ध कुटपिटको उजुरी दिएको खुल्न आएको छ। सोही आधारमा पक्राउ परेका आरिफ १४ चैतमा ‘आगामी दिनमा झगडा नगर्ने’ सहमतिमा छुटेका थिए। तर, सोही राति सिर्जना आरिफको घर नजिकै जलेको अवस्थामा भेटिएकी थिइन्।
प्रहरीका अनुसार घटनाको प्रकृति हत्या वा आत्महत्या भन्ने विषय पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणका आधारमा मात्र खुल्नेछ। हालसम्म पोस्टमार्टम रिपोर्ट नआएकाले वास्तविक कारणबारे निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ।
यसैबीच, सामाजिक सञ्जालमा मृतक र नियन्त्रणमा रहेका व्यक्तिहरू फरक धर्मका भएको भन्दै साम्प्रदायिक रंग दिने प्रयास भइरहेको देखिएको छ। प्रहरीले भने हालसम्मको अनुसन्धानबाट कुनै पनि साम्प्रदायिक कोण नदेखिएको स्पष्ट पारेको छ।
प्रहरीले घटनालाई धार्मिक विवादका रूपमा नउठाउन र आधिकारिक जानकारी पुष्टि गरेर मात्र समाचार तथा सामग्री प्रसारण गर्न सबैलाई आग्रह गरेको छ।


















