डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडास्थित श्री एस.एल.पी. मा.वि. महुकी पत्थरगाडा विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमको व्यवस्थापनप्रति गम्भीर प्रश्न उठेको छ। विद्यालयमा खाजा वितरण हुँदै आएको भए पनि विद्यार्थीलाई कापीको पाना र प्लास्टिकमा राखेर खुवाइएको दृश्य बाहिरिएपछि स्थानीयवासी आक्रोशित भएका छन्।

सरकारले बालबालिकाको पोषण अवस्था सुधार गर्ने र विद्यालयमा उपस्थिती बढाउने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर उक्त विद्यालयमा सरसफाइ र व्यवस्थापनमा गम्भीर लापरबाही भएको आरोप लागिरहेको छ। कागज र प्लास्टिकमा खाजा दिँदा विद्यार्थीको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्।

यस विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्। उनीहरूका अनुसार दिवा खाजा कार्यक्रमजस्तो संवेदनशील विषयमा देखिएको यस्तो लापरबाहीले बालबालिकाको सम्मानमै आँच पुर्याएको छ।



















