जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सरकार गठन भएको तीन सातापछि उनले औपचारिक रूपमा आफ्नो सरकारप्रति प्रदेशसभाको समर्थन सुनिश्चित गर्न तयारी गरेका हुन्। यसका साथमा मधेश प्रदेश स्थायित्व र सहकार्यतर्फ अघि बढ्ने संकेत देखिएको छ।
मुख्यमन्त्री सोनल पाँच दलीय समर्थनमा असोज २९ गते मुख्यमन्त्री बनेका थिए। जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, नेकपा एस र साना दलहरूको साथमा बनेको गठबन्धन अहिले सात दलीय सहकार्यमा रूपान्तरित भएको छ। जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार साना दलहरूको निरन्तर समर्थनले सरकारले स्थायित्व पाउने विश्वास बलियो भएको छ।
सोनलले मुख्यमन्त्री बनेपछि प्रदेशमा सहमतिको वातावरण बनाउन विभिन्न राजनीतिक दलसँग संवाद र सहकार्यलाई प्राथमिकतामा राख्दै आएका छन्। उनले सबै दलको सुझावलाई समेटेर प्रदेशको विकास, सुशासन र रोजगारीमुखी नीति अघि बढाउने तयारी गरेका छन्।
प्रदेशसभामा कुल १०४ सदस्य रहेको मध्ये विश्वासको मतका लागि ५३ मत आवश्यक छ। हाल सोनलको पक्षमा जसपा नेपालका १८, जनमत पार्टीका ११, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एसका ७, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ गरी ५५ मत रहेको छ। यसले उनको सरकार स्थिर रहने सम्भावना प्रष्ट देखाउँछ।
मुख्यमन्त्री सोनलले विश्वासको मतको पूर्वसन्ध्यामा भनेका छन्, “मधेश प्रदेशका जनताले स्थिरता, विकास र सुशासन चाहेका छन्। हाम्रो सरकार त्यो चाहनालाई पूरा गर्न प्रतिबद्ध छ।”
प्रदेशका जनप्रतिनिधिहरूले पनि सरकारलाई स्थायित्वका साथ अघि बढाउन समर्थन जनाएका छन्। लोसपाका एक सांसदले भने, “अब विरोध होइन, विकासको प्रतिस्पर्धा हुनुपर्छ। सोनलको नेतृत्वमा प्रदेशले नयाँ दिशा पाउनेछ।”
राजनीतिक विश्लेषकहरूको मूल्याङ्कनमा सोनलले आज विश्वासको मत पाउँदा मधेश प्रदेश लामो समयपछि स्थायित्व र नीतिगत निरन्तरतातर्फ अघि बढ्नेछ। यसले प्रदेशमा लगानीको वातावरण र जनताको विश्वास दुवै बढाउने अपेक्षा गरिएको छ।
जनकपुरधाममा अहिले सकारात्मक ऊर्जा देखिएको छ। प्रदेशसभाको बैठकअघि समर्थनकारी सांसदहरू उत्साहित देखिएका छन् भने सर्वसाधारणले पनि स्थिर सरकारको स्वागत गर्ने तयारी गरेका छन्।
आजको मतदानले मधेश प्रदेशको राजनीतिक यात्रामा नयाँ अध्याय सुरु गर्नेछ। स्थायित्व र सहकार्यतर्फ बढ्दै गरेको यो यात्रा मधेशका जनताको आशा र अपेक्षाको दिशामा अगाडि बढेको संकेत हो।



















