काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउने क्रममा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै मन्त्री शर्माले याे सरकार अगाडि नबढाेस् भन्नेहरुले यस्ता चलाएका हुन सक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘याे सरकार यसरी अगाडि नजाओस् भन्ने कसैकाे साेचाइ हाेला, अब मिडिया ट्रायल नै भनाैं, गलत न्युज बाहिर आएका छन्, भर्खरै कमरेड केपी ओलीले आफ्ना सबै मन्त्रीलाई बाेलायाे, पदाधिकारी बैठक बाेलाइयाे भन्ने छ, तर मन्त्रीहरु क्याबिनेटमा हुनुहुन्छ, उहाँ कार्यकर्ता भेटघाटमा हुनुहुन्छ, त्यसकारण आएका सबै न्युजमा सत्यता हुँदैन ।’
बैठकमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ब्रिफिङ गर्नुभएकाे पनि उहाँले पनि बताउनुभयाे । ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो, ओली र प्रधानमन्त्रीको हिजो पनि आज पनि बैठक भएको कुरा त बाहिर आएकैछ, बाहिर असमझदारी बढे भन्ने जु खालका जुन परिचर्चा भए ती सबै कुराहरु असत्य हुन्, हाम्राे छलफल सकारात्मक ढंगले अगाडि बढेको छ, यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर ब्रिफ गर्नुभएको छ’- प्रधानमन्त्रीकाे भनाइ उदृद गर्दै मन्त्री शर्माले भन्नुभयाे ।
सरकार के हाेला भन्ने कुरा बाहिर मिडियामा आएजस्ताे नभएकाे प्रधानमन्त्रीले बताउनुभएकाे पनि उहाँले जानकारी गराउनुभयाे ।
गत शनिबार एमाले अध्यक्ष ओलीकाे निवास बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएकाे भेटवार्तालाई लिएर सत्ता परिवर्तनकाे हल्ला चलाइएकाे छ ।


















