
जनता समाजवादी पार्टी नेपाल ले संगठनलाई मजबुत बनाउने, स्पष्ट वैचारिक दिशा तय गर्ने र युवा नेतृत्वलाई अघि बढाउने लक्ष्यसहित व्यापक छलफल सम्पन्न गरेको छ। शनिबार केन्द्रीय अध्यक्ष उपेन्द्र यादव को उपस्थितिमा बसेको अनौपचारिक बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनपछिको परिस्थितिको समीक्षा तथा आगामी रणनीतिबारे गहन विचार-विमर्श गरिएको थियो।

बैठकमा पार्टीका विभिन्न तहका नेताहरू सहभागी भई संगठनभित्र देखिएका सुधारका आवश्यकता, कार्यशैली र भावी कार्यदिशाबारे खुला छलफल गरेका छन्। विशेषगरी आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र समानुपातिक सूची निर्माणमा देखिएका कमजोरीहरूबारे गम्भीर समीक्षा गरिएको छ। नेताहरूले जिम्मेवारी बाँडफाँड गर्दा कार्यक्षमता, योगदान र वस्तुगत मूल्याङ्कनलाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

यसैगरी, विधान अधिवेशनबाट पारित हुन नसकेको ४० प्रतिशत युवा प्रतिनिधित्वको प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय पनि छलफलको केन्द्रमा रह्यो। युवाहरूलाई नीति निर्माण तहसम्म पुर्याउने र नेतृत्व विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई केवल चुनाव केन्द्रित संरचनामा सीमित नराखी सशक्त वैचारिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, संगठनात्मक समायोजन, वैचारिक बहसको विस्तार, युवा नेतृत्व विकास, राष्ट्रिय हितलाई प्राथमिकता दिने अन्तर्राष्ट्रिय सम्बन्ध, पहिचान र समावेशिताका मुद्दा तथा प्रविधिमैत्री पार्टी व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राखेर अघि बढ्ने सहमति समेत भएको छ।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav