काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी ले समाज परिवर्तन केवल भाषणबाट सम्भव नहुने भन्दै व्यवहारमै समानता र सम्मान देखिनुपर्ने बताएकी छन्।
अन्तरजातीय विवाह गरेकी मन्त्री वादीले आफ्नो वैवाहिक जीवनको तेस्रो वर्षगाँठको अवसरमा सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गर्दै प्रेम र सम्बन्धमा जातीय विभेदको कुनै स्थान नहुने उल्लेख गरेकी हुन्।
उनले आफूहरूले परिवारकै सहमतिमा मागी विवाह गरेको स्मरण गर्दै समाजमा सकारात्मक परिवर्तन सम्भव रहेको सन्देश दिएकी छन्।
मन्त्री वादीले आफ्नो जीवन संघर्षपूर्ण रहेको उल्लेख गर्दै बादी समुदायकी छोरीका रूपमा हुर्कंदा विभेद, अपमान र अनेक कठिनाइहरू भोग्नुपरेको अनुभव साझा गरेकी छन्। तर अहिले त्यही समुदायबाट उठेर संघीय सरकारमा जिम्मेवारी सम्हाल्न पाउनु व्यक्तिगत सफलता मात्र नभई अवसर पाए कुनै पनि समुदाय कमजोर नहुने प्रमाण भएको उनको भनाइ छ।
उनले आफ्नो यात्रामा साथ दिने पार्टी सभापति, पार्टी परिवार तथा सम्माननीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै सामाजिक न्याय र समानताको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता समेत जनाएकी छन्। –
फेसबुकमा उनले लेखेकी छन् :-
हामीले भन्यौं, हाम्रो परिवारले स्वीकार गर्यो—“भागी होइन मागी गरौं, अपमान होइन सम्मान गरौँ।”
यही सोच, यही विश्वास र समानताको सुन्दर सपनासहित आजभन्दा तीन वर्षअघि, २०८० बैशाख २८ गते, म सुर्खेत निवासी बादी समुदायकी छोरी र काठमाडौं निवासी पुर्कुटी परिवारका छोराबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो।आज हाम्रो वैवाहिक यात्राले तीन वर्ष पूरा गरेको छ। यो हाम्रो दुई व्यक्तिको सम्बन्ध मात्र होइन—समाजलाई व्यवहारबाट समानता, सम्मान र मानवताको सन्देश दिने एउटा साहसिक यात्रा पनि हो भन्ने मैले गहिरो रूपमा महसुस गरेकी छु।
आज पनि समाजमा जात, समुदाय र पृष्ठभूमिका आधारमा मानिसलाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा बदलिएको छैन। तर हामीले र हाम्रो परिवारले सधैं एउटै विश्वास बोकेका छौँ—मान्छेको पहिचान उसको जातले होइन, उसको व्यवहार, सोच, क्षमता र मानवताले निर्धारण गर्छ।
म बादी समुदायकी छोरी भएर हुर्किएँ। संघर्ष, अपमान र विभेदका अनेक कथा देखेँ, सुनेँ र कहिलेकाहीँ आफैंले भोगेँ पनि। तर आज त्यही समुदायकी छोरी भएर संघीय सरकारको जिम्मेवारी वहन गरिरहेकी छु। यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन—अवसर, सम्मान र विश्वास पाए कुनै पनि समुदाय कमजोर हुँदैन भन्ने जिउँदो प्रमाण पनि हो। यसका लागि आफ्नो पार्टीका सभापति, पार्टी परिवार र सम्माननीय प्रधानमन्त्रीज्यूप्रति म हृदयदेखि नै आभारी छु।
हाम्रो सम्बन्धले एउटा कुरा सिकाएको छ—प्रेममा जात हुँदैन,
सम्बन्धमा विभेद हुँदैन, आत्मीयतामा उँचनीच हुँदैन।
जहाँ सम्मान हुन्छ, त्यहीँ साँचो सम्बन्ध बाँच्छ। जीवनको सबैभन्दा ठूलो सौभाग्य भनेको आफूलाई बुझ्ने, अपनाउने र सम्मान गर्ने परिवार पाउनु रहेछ।
मेरो परिवारले मलाई बुहारी मात्र होइन, आफ्नै छोरीझैँ माया, स्नेह र सम्मान दिनुभएको छ। त्यो अपनत्व मेरो जीवनको सबैभन्दा अमूल्य सम्पत्ति हो। कहिलेकाहीँ रगतभन्दा माथि पनि सम्बन्धहरू बन्ने रहेछन्—जहाँ केवल मन, विश्वास र सम्मान जोडिएको हुन्छ।
यतिबेला मेरा जन्मदिने आमाबुबा हुनुहुन्छ, तर कर्म दिने आमा आज साथमा हुनुहुन्न। तथापि, कर्म दिने बुवाले मलाई जुन न्यानोपन, माया र आत्मीयता दिनुभएको छ, त्यो मेरो जीवनको अमिट अनुभूति बनेको छ।
जीवन साथी सुरेश पुर्कुटी —मेरो हरेक संघर्ष, हरेक मोड र हरेक यात्रामा साथ र भरोसा बनेर उभिनुभएको छ। मेरो सम्पूर्ण पुर्कुटी परिवार—मलाई आफ्नो बनाएर जीवनलाई अझ सुन्दर र अर्थपूर्ण बनाइदिनुभएकोमा हृदयदेखि नै आभारी छु।
समाज परिवर्तन भाषणले मात्र होइन, व्यवहारबाट हुन्छ भन्ने कुरा मैले आफ्नै जीवनमा महसुस गरेकी छु। त्यसैले आज, हाम्रो वैवाहिक जीवनको तीन वर्ष पूरा भएको यस विशेष अवसरमा, म फेरि पनि यही आग्रह गर्न चाहन्छु—भागी होइन मागी गरौं, अपमान होइन सम्मान गरौँ। विभेद होइन, समानता रोजौँ।
जात होइन, मानवता चिनौँ।
यो सम्बन्ध सधैं यसैगरी फुलिरहोस्—मायाले, विश्वासले, सम्मानले र अपनत्वले। हामी सधैं यस्तै साथमा रहिरहौँ, हरेक खुसी–दुःख सँगै बाँड्दै,एकअर्काको शक्ति बन्दै, अझ उज्यालो भविष्यतर्फ अघि बढ्दै।
तेस्रो वर्षको यो सुन्दर यात्राको हार्दिक शुभकामना!


















