सिरहा । सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शिवशंकर यादव ले बरियारपट्टी छोटी भन्सारलाई कायम राख्दै यसको स्तरवृद्धिका लागि आफू निरन्तर सक्रिय रहेको बताएका छन्। उनले यो विषयलाई आफूले जनताको साझा सरोकारका रूपमा लामो समयदेखि उठाउँदै आएको उल्लेख गरेका छन्।
सांसद यादवले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै Genz आन्दोलनकै समयदेखि बरियारपट्टी छोटी भन्सारको मुद्दालाई प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन्। उनका अनुसार तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल सँग पटक–पटक छलफल गरिएको थियो भने लहान भ्रमणका क्रममा Genz अभियानका प्रतिनिधिहरूसँग पनि विस्तृत संवाद भएको थियो।
उनले सोही क्रममा बरियारपट्टी छोटी भन्सार सञ्चालन तथा संरक्षणको माग राख्दै ज्ञापनपत्र समेत बुझाइएको जानकारी दिएका छन्। सांसद यादवका अनुसार हाल पनि भन्सार विभागका महानिर्देशक तथा अर्थमन्त्री स्वर्णिम वाग्ले सँग निरन्तर समन्वय भइरहेको छ। साथै, पार्टी सभापतिको समन्वयमा विषयलाई थप प्रभावकारी रूपमा अघि बढाइएको उनको दाबी छ।
“म आन्दोलनबाट आएको व्यक्ति हुँ। संघर्षको महत्व, जनताको पीडा र सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकता मैले नजिकबाट बुझेको छु,” यादवले बताएका छन्। उनले बरियारपट्टी छोटी भन्सारको विषयलाई व्यक्तिगत वा राजनीतिक स्वार्थसँग नजोड्न आग्रह गर्दै समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका छन्।
सांसद यादवले सीमावर्ती क्षेत्रका नागरिकका लागि बरियारपट्टी छोटी भन्सार अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यसको स्थायी समाधानका लागि आफ्नो पहल र संघर्ष निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


















