रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो
सप्तरीको राजविराज नगरपालिका–१०, विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यले नयाँ गति लिने भएको छ। प्रतिष्ठानको पूर्वाधार विकासका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेसँगै टेन्डर प्रक्रिया अघि बढाइएको छ।
प्रतिष्ठानको निर्माण कार्यलाई अगाडि बढाउन त्यस क्षेत्रका सांसद तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल तथा सरकारको चासोपछि आवश्यक बजेट व्यवस्था गरिएको जनाइएको छ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते भर्चुअल माध्यमबाट प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यको शिलान्यास गरेका थिए। शिलान्यासपछि निर्माण प्रक्रिया सुरु गर्ने तयारी भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत नहुँदा काम अघि बढ्न सकेको थिएन।
हाल ईआईए प्रतिवेदन स्वीकृत भइसकेपछि सरकारले विनियोजित बजेट कार्यान्वयन गर्दै पूर्वाधार निर्माणका लागि टेन्डर प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको हो। यससँगै प्रतिष्ठानको बहुप्रतीक्षित निर्माण कार्यले अब तीव्रता पाउने अपेक्षा गरिएको छ।


















