प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ
भारतको तेलंगाना राज्यको निजामाबाद जिल्लामा एक नर्सले आफ्नै प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेको आरोपमा पक्राउ परेपछि घटना चर्चाको विषय बनेको छ।
प्रहरीका अनुसार ३२ वर्षीया संध्याले आफ्ना प्रेमी अनिल र उनका साथी वेंकट साईसँग मिलेर ३५ वर्षीय श्रीमान् प्रशान्तको योजनाबद्ध रूपमा हत्या गरेकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रशान्त केही समयअघि रोजगारीबाट खाडी मुलुकबाट स्वदेश फर्किएका थिए। घर फर्किएपछि उनले श्रीमती संध्या र अनिलबीच प्रेम सम्बन्ध रहेको आशंका गर्न थालेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले यही सम्बन्धका कारण प्रशान्त उनीहरूको योजनामा बाधक बनेपछि हत्या गर्ने निर्णय गरिएको देखाएको छ।
अनुसन्धानअनुसार जुन ३० को राति प्रशान्तलाई मदिरा सेवन गराइएपछि घरको छतबाट तल धकेलिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचार भइरहेका बेला नर्सको रूपमा कार्यरत संध्याले आफ्नो पेशागत ज्ञानको दुरुपयोग गर्दै श्रीमान्को हातमा लगाइएको आईभी (ड्रिप) लाइनमार्फत ट्वाइलेट क्लिनर तथा अन्य रासायनिक पदार्थ शरीरभित्र प्रवेश गराएको आरोप प्रहरीले लगाएको छ। त्यसपछि प्रशान्तको स्वास्थ्य अवस्था अचानक बिग्रिएको र उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।
घटनापछि सुरुमा यसलाई दुर्घटनाको रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको थियो। परिवारलाई प्रशान्त मदिराको नशामा छतबाट लडेको जानकारी दिइएको थियो। तर, मृतककी आमाले घटनाप्रति शंका व्यक्त गर्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीले कल डिटेल, प्राविधिक प्रमाण तथा आरोपितहरूसँगको सोधपुछका आधारमा हत्या पूर्वयोजनाअनुसार गरिएको निष्कर्ष निकालेको जनाएको छ।
हाल प्रहरीले मुख्य आरोपी संध्या, उनका प्रेमी अनिल तथा सहयोगी वेंकट साईलाई पक्राउ गरी अदालतमार्फत न्यायिक हिरासतमा पठाएको छ। घटनाबारे थप फरेन्सिक परीक्षण र विस्तृत अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


















