जनकपुरधाम। साक्षर नेपाल फाउन्डेसनका महासचिव सागर यादवले मधेश प्रदेश सरकारद्वारा ल्याइएको ‘साक्षर मधेश प्रदेश घोषणा कार्ययोजना, २०८३’ लाई तत्काल पुनर्विचार गरी दिगो, प्रभावकारी र व्यवहारिक साक्षरता कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।
यसै सन्दर्भमा उनले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव समक्ष ध्यानाकर्षणपत्र बुझाउँदै हालको कार्ययोजना घोषणामुखी मात्रै रहेको र त्यसमा नीतिगत, प्राविधिक तथा कार्यान्वयनका दृष्टिले गम्भीर कमजोरी रहेको उल्लेख गरेका छन्।
ध्यानाकर्षणपत्रमा मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने सरकारको उद्देश्य सकारात्मक र स्वागतयोग्य भए पनि विश्वसनीय तथ्याङ्क संकलन, वास्तविक निरक्षर नागरिकको पहिचान, पर्याप्त स्रोत–साधनको व्यवस्थापन, नियमित साक्षरता कक्षा सञ्चालन, सिकाइ उपलब्धिको मूल्याङ्कन तथा प्रमाणीकरणजस्ता आधारभूत प्रक्रिया पूरा नगरी प्रदेशलाई साक्षर घोषणा गरिए कार्यक्रमको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिइएको छ।
त्यसैगरी, कार्ययोजनामा तोकिएको समयसीमा व्यावहारिक नभएको उल्लेख गर्दै मधेश प्रदेशको सामाजिक, भौगोलिक तथा जनसांख्यिक अवस्थालाई मध्यनजर गरी दीर्घकालीन, प्रभावकारी र परिणाममुखी साक्षरता कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारसँग आग्रह गरिएको छ।


















