जनकपुरधाम। सामाजिक सञ्जालमा भ्यूज र लाइकको होडमा व्यक्तिगत गोपनीयता तथा सामाजिक मर्यादामाथि आघात पुग्ने सामग्री सार्वजनिक गर्ने प्रवृत्तिले गम्भीर मानवीय क्षति निम्त्याइरहेको अर्को दुःखद घटना सार्वजनिक भएको छ। बारा जिल्लामा सामाजिक सञ्जालमा भाइरल बनाइएको अपमानजनक भिडियोपछि मानसिक तनावमा परेकी १३ वर्षीया बालिका सरिया खातुनको मृत्यु भएको घटनाले समाजलाई गम्भीर प्रश्नहरू खडा गरेको छ।
घटना बाराको कलैया उपमहानगरपालिका–२१ भौडाहको हो। परिवारका अनुसार गाउँकै केही युवाले सरियालाई चौरमा एक युवकसँग बसेको देखेपछि सार्वजनिक रूपमा गालीगलौज, दुर्व्यवहार तथा कुटपिट गरेका थिए। उनीहरूले उक्त घटनाको भिडियो मोबाइलमा खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि केही समयमै भिडियो व्यापक रूपमा भाइरल भएको थियो।
परिवारजनका अनुसार भिडियो सार्वजनिक भएसँगै सरियाले गाउँ–समाजमा अपमान र मानसिक दबाबको सामना गर्नुपरेको थियो। यही मानसिक पीडा सहन नसकेर उनले असार १६ गते आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको दाबी परिवारको छ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार सरिया आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनापछि परिवारले इलाका प्रहरी कार्यालय, सिमरामा किटानी जाहेरी दर्ता गराएको छ।
परिवारको जाहेरीका आधारमा प्रहरीले सात जना युवाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा दर्ता गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ भने अन्य आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको अघिल्लो दिन, असार १५ गते, सरिया गाउँ नजिकैको चौरस्थित खेतमा एक युवकसँग बसिरहेकी थिइन्। सोही क्रममा केही युवाले उनलाई घेरेर गालीगलौज गरेका थिए। परिवारजनले उनीमाथि कुटपिट र दुर्व्यवहारसमेत भएको आरोप लगाएका छन्।
घटनास्थलमा खिचिएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। परिवारका अनुसार चौरमा भएको दुर्व्यवहारभन्दा पनि भिडियो भाइरल भएपछि सरियाले ठूलो मानसिक पीडा भोग्नुपरेको थियो। आफूमाथि भएको अपमानजनक व्यवहार सार्वजनिक भएपछि उनी गहिरो तनावमा परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय, बाराका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले घटनाबारे सबै पक्षबाट अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार मृतकले कुनै सुसाइड नोट नछोडेकाले आत्महत्याको वास्तविक कारणबारे अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको छ।
उनले परिवारको जाहेरी, सामाजिक सञ्जालमा भाइरल भएको भिडियो, स्थानीयवासीको बयान तथा घटनाको समयक्रमलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको बताए। पक्राउ परेका एक जनामाथि थप अनुसन्धान भइरहेको तथा फरार अन्य आरोपितको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा सामाजिक सञ्जालमा फैलिएको भिडियो महत्वपूर्ण प्रमाणका रूपमा प्रयोग भइरहेको छ। भिडियोमा केही युवाले बालिकालाई घेरेर गालीगलौज, धम्की तथा अपमानजनक व्यवहार गरेको देखिएको छ। यद्यपि परिवारले भिडियोमा नदेखिएका कुटपिट र थप दुर्व्यवहारसमेत भएको दाबी गरेको छ।
यस घटनाले सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोग, सार्वजनिक अपमान तथा साइबर दुर्व्यवहारले व्यक्तिको मानसिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे पुनः बहस सिर्जना गरेको छ।


















